गृहमन्त्रीलाई निडर भएर अघि बढ्न पूर्वराष्ट्रपतिको सुझाव

हिमाल प्रेस ६ भदौ २०८० २१:५१ | Wednesday, August 23, 2023
गृहमन्त्रीलाई निडर भएर अघि बढ्न पूर्वराष्ट्रपतिको सुझाव

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचारको चंगुलबाट मुलुकलाई बाहिर ल्याउन वर्तमान सरकारबाट भइरहेको प्रयासको प्रशंसा गरेकी छन्। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटमा उनले यस्तो प्रशंसा गरेकी हुन्।  भण्डारीले भ्रष्टाचारका हरेक काण्ड  टुंगोका पुर्‍याउन निष्पक्ष र निडर भएर यो वा त्यो नभनी अघि बढ्न श्रेष्ठलाई सुझाव दिएकी छन्।

उपप्रधानमन्त्री श्रेष्ठ  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न बुधबार भण्डारी निवास बूढानीलकण्ठ पुगेका थिए। भण्डारी बूढानीलकण्ठस्थित घरमा केही समयअघि मात्रै सरेकी थिइन्। उनी पूर्वराष्ट्रपति भएपछि वर्तमान सरकारको प्रतिनिधिका रूपमा गृहमन्त्री श्रेष्ठलाई पहिलोपटक भेटेको हुन्।

पहिलोपटक सरकारी प्रतिनिधि पूर्वराष्ट्रपति भेट्न आएकोमा खुसी हुँदै भण्डारीले आफ्ना समस्या पनि बताएकी थिइन्। सरकारबाट पाउनुपर्ने सुविधादेखि अहिले भइरहेका केही विषय पनि उनले सुनाएकी थिइन्। सरकारले पूर्वराष्ट्रपतिलाई बस्ने स्थान र अन्य सेवा सुविधा दिने भए पनि भण्डारी छोरीको घडेरीमा घर बनाएर बसेकी हुन्।

उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको थियो। सक्रिय राजनीतिमा आउनुभन्दा पनि मुलुकको विकासको पाटो र राजनीतिक सुधारका लागि मनोबल बढाउने कार्यमा सक्रिय रहने भण्डारीको भनाइ थियो।

‘कुनै पनि कार्यलाई निष्पक्ष ढंगले निचोडमा पुर्‍याउन गृहमन्त्रीका रूपमा तपाईँले गर्नुभएको कार्यको म समर्थक हुँ,’ भण्डारीलाई उद्धृत गर्दै गृहमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘राजनीतिकर्मीले नै भ्रष्टाचार गर्न थालेपछि कसरी मुलुक बन्छ? नेपाल प्रहरीलाई सक्रिय बनाएर जुन कार्य गरिरहनुभएको छ, त्यो प्रश‌ंसनीय छ।  यो तीन करोड नेपालीको भित्री मनले भनिरहेको कार्य हो।’

पूर्वराष्ट्रपति निकट स्रोतका अनुसार भण्डारीले पटकपटक श्रेष्ठलाई निडर भएर अघि बढ्न र भ्रष्टाचारीलाई ठेगान लगाउन सुझाव दिइन्। ‘निकै चनाखो रहेर, सबै कोणबाट अध्ययन गर्दै निडर र निष्पक्ष भएर भ्रष्टाचारीलाई जेल लैजानैपर्छ। राजनीति गर्नेको बोली र व्यवहार नियाल्दा म त छक्क पर्ने गरेकी छु,’ भण्डारीको सचिवालयका एक सदस्यले भने।

समाज कता जाने हो भन्दै आमनागरिकले सच्चा नेतृत्व खोजिरहेको संकेत गर्दै श्रेष्ठलाई भण्डारीले भनिन्, ‘सबैले आफ्नो स्थानबाट यसरी नै काम गर्ने हो भने मुलुक बन्न समय लाग्दैन।’

भण्डारीले शीतल निवास छाडेपछि कमै मात्र नेता उनीकहाँ गएका छन्। उनी आफ्नो पूर्वपार्टी एमालेमा फर्कने र सक्रिय रहने चर्चा अचेल सेलाएको छ। भण्डारी पार्टीमा सक्रिय हुने भन्दा पनि पूर्वराष्ट्रपतिका रूपमा केही गर्ने र राम्रा कामलाई प्रोत्साहन गर्ने अनि नराम्रा विषयलाई उजागर गर्नेमा लाग्ने बताउँछिन्।

नेपालको पहिलो महिला राष्ट्रपतिका रूपमा शीतल निवास छिरेकी उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री भएका बेला पटकपटक विवादमा आइन्। यद्यपि भण्डारीसँग काम गर्नेहरू उनको राजनीतिक चेत र काम गर्ने शैलीको प्रशंसा गर्छन्।

प्रकाशित: ६ भदौ २०८० २१:५१ | Wednesday, August 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast