माधव नेपालले औँल्याए एमालेसँग विद्रोह गर्नुका कारण

हिमाल प्रेस ५ भदौ २०८० १४:०८ | Tuesday, August 22, 2023
माधव नेपालले औँल्याए एमालेसँग विद्रोह गर्नुका कारण

काठमाडौँ- पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसकेको आरोप लागिरहेका बेला नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विद्रोहको पुष्टि गर्न खोजेका छन्। उनले मंगलबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा पेस गरेको सांगठनिक प्रतिवेदनमार्फत विभाजन पुष्टि गर्न खोजेका छन्।

‘हामीले मुलुकलाई प्रतिगमनको भुमरीमा धकेल्ने दक्षिणपन्थी विसर्जनवादविरुद्ध विद्रोह गरेका थियौँ। अर्को शब्दमा भन्नुपर्दा हामीले विद्रोह प्रतिगमनविरुद्ध गरेका थियौँ’, अध्यक्ष नेपालले भनेका छन्, ‘प्रतिगमन परास्त गरी जनवादी क्रान्तिका उपलब्धिका रूपमा रहेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने, प्रतिनिधिसभालाई बचाएर पूर्ण कार्यकाल काम गर्न दिने र संविधानलाई क्रियाशील बनाउने हाम्रो विद्रोहको मुख्य लक्ष्य थिए।’

उनले विद्रोहबाट प्रतिगमन परास्त भएको दाबीसमेत गरेका छन्। ‘प्रतिगमन परास्त गरिएको छ। संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा भएको छ। प्रतिनिधिसभा पुनर्स्थापित भएर पूर्ण कार्यकाल क्रियाशील रहेको छ। हामीले विद्रोह नगरेको भए यी काम हुने थिएनन्। यस अर्थमा हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ’, नेपालले भनेका छन् ।

‘एमालेभन्दा समाजवादी यस कारण फरक छ’

अध्यक्ष नेपालले आफ्नो दल र नेकपा एमालेबीचको भिन्नता पनि प्रतिवेदनमा समावेश गरेका छन्। सात फरक विषयमा एमालेभन्दा एकीकृत समाजवादी अग्रगामी रहेको दाबी अध्यक्ष नेपालकाे छ। यस्ता छन् उनले देखाएको भिन्नता-

१. हामी २०६/६३ को शान्तिपूर्ण जनक्रान्तिमार्फत सामन्ती राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापना भएपछि नेपाली जनवादी क्रान्ति आधारभूत रूपमा सम्पन्न भएको मान्दछौँ भने एमाले यो मान्दैन।

२. हामी वर्तमान नेपाली समाज आधारभूत रूपमा पुँजीवादी चरित्रको छ भन्छौँ भने एमाले यो मान्दैन।

३. हामी अब हुने नेपाली क्रान्तिलाई समाजवादी क्रान्ति भन्छौँ भने एमाले यो मान्दैन।

४. हामी मार्क्सवाद–लेनिनवादलाई मात्र मार्गदर्शक सिद्धान्त मान्छौँ भने एमाले जनताको बहुदलीय जनवादलाई समेत मार्गदर्शक सिद्धान्त मान्दछ।

५. हामी समाजवादी क्रान्तिको कार्यक्रम अँगालेर अगाडि बढ्ने भन्छौँ भने एमाले यो मान्दैन।

६. हामी समाजवादी कार्यदिशा अंगाल्ने भन्छौँ भने एमाले यो मान्दैन।

७. हामी प्रतिगामी पुनरुत्थानवादी तत्त्वहरूका विरुद्ध प्रहार केन्द्रित गर्ने भन्छौँ भने एमाले त्यस्ता तत्त्वसँग सहकार्य गर्न चाहन्छ।

सांगठनिक स‌ंरचना

प्रतिवेदनमा नेपालले केन्द्रमा केन्द्रीय कमिटी, तीनवटा केन्द्रीय आयोगहरू, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय परिषद्, केन्द्रीय विभाग, प्रदेश तहमा भूगोलका सातवटा प्रदेश कमिटी र स्थानीय तहमा सतहत्तर जिल्ला कमिटी, अधिकांश पालिका कमिटी र आधाभन्दा बढी वडामा वडा कमिटी गठन भएको उल्लेख गरेका छन्।

प्रतिवेदनमा गैरभूगोल क्षेत्रका विशेष प्रदेश कमिटी, विशेष जिल्ला कमिटी, सम्पर्क कमिटी, विशेष इलाका र सम्पर्क मञ्च तथा प्रवासमा समेत हाम्रो पार्टी फैलिएको उल्लेख छ। उपर्युक्त पार्टी कमिटीहरूका अतिरिक्त जनवर्गीय, पेशागत र सामुदायिक संगठनहरूमा पनि ठूलो संख्या पार्टीका सदस्य एवं समर्थकहरू संगठित भएको नेपालले बताएका छन्।

नेपालले संगठन सुदृढीकरण अभियानका क्रममा अद्यावधिक गरिएका पार्टी र जन संगठनका कमिटी तथा तिनमा संगठित सदस्य संख्या पनि आफ्नो प्रतिवेदनमा पेस गरेका छन्।

प्रकाशित: ५ भदौ २०८० १४:०८ | Tuesday, August 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast