मुगु- सोरु गाँउपालिकाको केन्द्र सोरुकोटबाट जिल्ला सदरमुकाम गमगढीतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
सोमबार दिउँसो २ बजे सोरुकोटबाट छुटेको ग १ ज ७७६२ नम्बरको जिप सोही गाँउपालिका-६ सिपपहिरो भन्ने स्थानमा पुग्दा दिउँसो ४ बजे सडकबाट चिप्लिएर दुर्घटना भएको थियो।
जिप सडकबाट अन्दाजी तीन सय मिटर तल मुगु कर्णाली छेउ पुगेको र जिपमा सवार ९ जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक मोहन बस्नेतले जानकारी दिए। उनका अनुसार दुर्घटनामा पाँच जनाको अवस्था चिन्ताजनक रहेको र दुईको अवस्था सामान्य छ।
उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित एम्बुलेन्स घटनास्थलतर्फ गए पनि छायाँनाथ रारा नगरपालिका–३ फुली र आँसीधारा गाउँको बीचमा तीन ठाउँमा पहिरो गएकाले टोली अगाडि बढ्न सकेको छैन। घटनास्थलबाट घाइते र मृतकहरूलाई आँसीधारा गाउँसम्म जिपमा ल्याइँदै गरेको र फुलीबाट स्ट्रेचरसहित हिँडेको प्रहरीले स्ट्रेचरमा बोकेर फुलीबाट एम्बुलेन्समा राखी जिल्ला अस्पताल मुगुमा ल्याइने डीएसपी बस्नेतले बताए।
जिपमा सवार अधिकांश हुम्ला जिल्लाका भएको बुझिए पनि उनीहरूको सनाखत हुन सकेको छैन। घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट तीन घण्टा सडक दूरी रहेको र सडकको अवस्था राम्रो नभएकाले घाइतेहरूलाई राति १०/११ बजेसम्ममा जिल्ला अस्पताल मुगुमा पुर्याउनन सकिने प्रहरीले बताएको छ। -रासस


