काठमाडौँ- नेपाली कांग्रेसका सांसद सुनील शर्मा बिहीबार (हिजो) पक्राउ परेका छन्। सांसद शर्मालाई हातीगौडास्थित आफ्नै निवासबाट सीआईबीले पक्राउ गरेको हो।
उनलाई शैक्षिक प्रमाणपत्र कीर्ते मुद्दामा पक्राउ गरिएको हो। लामो समयदेखि सीआईबीको निगरानीमा रहेका उनी हिजो पक्राउ परेका हुन्। उनी पक्राउ परेको सभामुखलाई जानकारी गराइएको छ। सीआईबीले पत्रमार्फत जानकारी दिएको हो।
अब सांसद शर्माको पद जान्छ/जाँदैन भन्ने बहसको विषय बनेको छ।
संविधानको धारा १०३ को उपधारा (३) अनुसार ‘प्रचलित कानुन बमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षका लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षका लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधासमेत स्थगित हुनेछ।’ भनिएको छ।
यदि सोही धाराको उपधारा (४) अनुसार ‘कुनै सदस्यलाई फौजदारी मुद्दामा अदालतको फैसलाले कैदको सजाय हुने ठहर भएकोमा त्यस्तो कैदमा बस्नु पर्ने अवधिभर वा कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसला बमोजिम कैदको सजाय भुक्तान गरिरहेकोमा सो अवधिभर वा कुनै सदस्यले कैद भुक्तान गर्न बाँकी रहेमा वा पक्राउ परी कैद भुक्तान नगरेसम्मको अवधिभर त्यस्तो सदस्य स्वतः निलम्बन भएको मानिनेछ।’
पक्राउ पर्नेवित्तिकै उनको पद जाने सम्भावना छैन। सभामुखले उनी पक्राउ परेको संसद् बसेको दिन सभामा जानकारी गराउने छन्। हालसम्मको प्रावधानअनुसार उनी पुर्पक्षका लागि थुनामा गएमा निलम्बित हुनेछन्।