गुल्मीमा तामा, फलाम र सिसा उत्खननका लागि नमूना परीक्षण

हिमाल प्रेस २६ मंसिर २०७९ १६:५५ | Monday, December 12, 2022
गुल्मीमा तामा, फलाम र सिसा उत्खननका लागि नमूना परीक्षण

गुल्मी– गुल्मीमा तामा, फलाम र सिसाको उत्खननका लागि खानीको अनुसन्धान सुरु गरिएको छ। जिल्लाको सत्यवती गाउँपालिका ८ भार्से जंगलमा तामा, फलाम र सिसा खानी उत्खननका लागि भूगर्भविद्ले अनुसन्धान थालेका हुन्।

६ दशक पहिले तामा, फलाम र सिसाको उत्खनन गरिएको इतिहास रहेको भार्सेमा फेरि अनुसन्धान गरी उत्खनन गर्न सत्यवती गाउँपालिकाले प्रक्रिया अगाडि बढाएको हो।

सत्यवती गाउँपालिकाको पहलमा भूगर्भविद्को सहयोगमा अनुसन्धान सुरु भएको भार्सेका वडाध्यक्ष होमबहादुर रानाले जानकारी दिए। त्रिभुवन विश्वविद्यालयका भूगर्भशास्त्र विभागका प्राध्यापक डा. कविराज पौडेलसहित नौ जनाको समूहले भार्सेका विभिन्न ठाउँमा पुगेर तामा, फलाम र सिसाको नमूना संकलन गरेर शनिबार फर्किएको छ। उहाँहरूले पुस मसान्तभित्र नमूनाको नतिजा दिनेछन्।

भार्सेको देउराली, चाहारे, भैँसे, झुलेनी, चालपात, लुराङग, पैयाँपाटा, खैरेनी र खाडा गाउँमा रहेको विभिन्न खानीबाट नमूना संकलन गरिएको हो। भार्सेबाट तामा, फलाम र सिसा बन्ने कच्चापदार्थ धाउ बाग्लुङमा लगेर जाने गरेको पनि इतिहासका रूपमा रहेको स्थानीय नरु बुढाथोकीले बताए। भार्से गाउँ थाप्ले लेकको काखमा छ। यहाँ पर्यटकीय संरचना पनि बन्दै गएका छन्।

भार्सेमा १२औँ पुस्ता अगाडि तामा, फलाम र सिसा खानीको उत्खनन गर्ने क्रममा बस्ती बसेको पनि स्थानीयवासीले बताएका छन्। अनुसन्धानका क्रममा तामा, फलाम र सिसा खानी सावित भएमा सत्यवती गाउँपालिकाले उत्खनन सुरु गर्नेछ।

इतिहासका रूपमा रहेको तामा, फलाम र सिसा खानीको वास्ताविकता पत्ता लगाई खानी सावित भएमा उत्खनन गरेर आर्थिक रूपमा माथि उठ्न सकिने सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेको भनाइ छ।

प्रकाशित: २६ मंसिर २०७९ १६:५५ | Monday, December 12, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast