काठमाडौँ- त्रिभुवन विश्वविद्यालय(त्रिवि) उपकुलपति धर्मकान्त बाँस्कोटाले आफूले ‘प्राध्यापकहरूले इलेक्ट्रिक हाजिरी झोलामा लैजान्छन्’ भन्ने उदाहरण गलत भएको बताएका छन्।
संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको साउन १९ गतेको बैठकमा आफ्नो समस्या राख्ने क्रममा उदाहरणको रूपमा दिएको उदाहरणलाई अभिव्यक्तिका रुपमा लिएकोमा उपकुलपति बाँस्कोटाले दु:ख व्यक्त गरेका छन्।
उपकुलपति कार्यालयले विज्ञप्ति जारी गर्दै बाँस्कोटाले आधा घण्टा ‘उच्च शिक्षा क्षेत्रको वर्तमान अवस्था, गुणस्तर, समस्या–चुनौती र आगामी योजना’ विषयमा सम्बोधन गर्ने क्रममा हाजिरी मेसिन लाने प्रवृत्ति देखिएको भन्ने सानो क्लिपलाई मात्र समाचारको रूपमा प्रयोग गरिएको भनिएको छ ।
‘हाजिरीको विषयमा दिएको अभिव्यक्तिको उदाहरणले विश्वविद्यालयका सक्षम, इमान्दार र कर्तव्यनिष्ठ शिक्षकहरूको मर्यादामा आँच पुगेको भए त्रिवि उपकुलपतिको कार्यालय दु:ख व्यक्त गर्दछ।’ विज्ञप्तिमा भनिएको छ ।
‘विश्वविद्यालयका समस्याहरू बताउने क्रममा संसारमा प्राध्यापकले विश्वविद्यालयको सम्पत्तिमा क्षति पुर्याउने कुरा सोच्न पनि सकिदैन, तर हाम्रोमा हाजिरी मेसिन उठाउने जस्तो घटना पनि भएको छ भनी उदाहरणको रूपमा बताइएको थियो। उपकुलपतिले आधा घण्टाभन्दा बढी समय बोलेकोमा समाचार सम्प्रेषण गर्दा सानो क्लिप मात्रै बाहिर आएको देखिन्छ । सक्षम, इमान्दार र लगनशील शिक्षकहरूको कारणले मात्रै विश्वविद्यालय आज अगाडि बढ्न सकेको कुरामा दुई मत छैन ।’
उपकुलपति बाँस्कोटाले त्रिविका समस्या समाधान गर्न सदस्यहरूले दिएको सुझावलाई विश्वविद्यालयले मार्गदर्शनको रूपमा लिएको उल्लेख गरिएको छ ।



