जापान र फ्रान्स निर्यात भएपछि कफीखेतीमा गुल्मीका किसान आकर्षित

हिमाल प्रेस २५ मंसिर २०७९ १७:१६ | Sunday, December 11, 2022
जापान र फ्रान्स निर्यात भएपछि कफीखेतीमा गुल्मीका किसान आकर्षित फाइल तस्बिर।

गुल्मी– गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफीखेतीमा आकर्षित हुन थालेका छन्। यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी संघमार्फत् निर्यात हुँदै आएको छ। संघका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै वार्षिक ५ मेट्रिक टन कफी निर्यात हुँदै आएको छ।

किसान, समूह र सहकारीबाट खरिद गरिएको कफी प्रशोधन गरी संघले निर्यात गर्दै आएको छ। जसबाट संघले वार्षिक ६० लाख आम्दानी गर्दै आएको सचिव आचार्यको भनाइ छ। कफी विकास केन्द्र गुल्मीका प्रमुख जीवन आचार्यले कफीको बिउ स्रोत केन्द्रका रूपमा काम गरिरहेको बताए।

कुल ६ हेक्टर क्षेत्रफलमा बिउका लागि कफी खेती गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा निर्यात हुन थालेपछि कफीखेतीमा किसानको आकर्षण बढेको छ। गुल्मीको रेसुंगा नगरपालिका ८ का २५ वर्षीय मनोज पाण्डे र २४ वर्षे सरोज बेलबासे व्यावसायिक कफीखेतीमा छन्।

आँपचौरको पिपलारुखमा दुई सय रोपनीमा डेढ वर्षदेखि कफीखेती गरिरहेका उहाँहरूले २० हजार कफीका बिरुवा रोपेका छन्। ‘विदेशमा पसिना बगाउनुभन्दा स्वेदशमै मिहेनत गरौँ भन्ने सोचले कफीखेती सुरु गरेका हौँ,’ बेलबासेले भने। मनोज र सरोजले गरेको कफीखेतीबाट हाल १ हजार बिरुवाले उत्पादन दिइरहेका छन्। मनोजका अनुसार गतवर्ष यसबाट ७ लाख रुपैयाँ आम्दानी भएको थियो।

कफीखेतीमा उनीहरूले हालसम्म ५१ लाख रुपैयाँ लगानी गरिसकेका छन्। कफीखेतीसँगै कफी प्रशोधन, प्याकेजिङ र बजारीकरणसमेत आफैं गर्दै आएका छन्। उनीहरू मात्रै होइन आँपचौरका अधिकांश परिवार कफीखेती होमिएको छ। केहीले व्यावसायिक रूपमा त केहीले घरखर्चका लागि मात्रै पनि कफीखेती गरेका छन्।

प्रकाशित: २५ मंसिर २०७९ १७:१६ | Sunday, December 11, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast