भरतपुरमा लक्ष्यभन्दा २२ प्रतिशत कम राजस्व संकलन

हिमाल प्रेस १० साउन २०८० ११:३८ | Wednesday, July 26, 2023
भरतपुरमा लक्ष्यभन्दा २२ प्रतिशत कम राजस्व संकलन

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुरमा राजस्व विभागले दिएको लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ।

गत आर्थिक वर्षमा कार्यलयले लक्ष्य २६ अर्ब २६ करोड ५९ लाख ७३ हजारमा २० अर्ब ४७ करोड ५ लाख ९७ हजारमात्रै राजस्व संकलन गरेको हो।

लक्ष्यको ७७ दशमलव ९४ प्रतिशतमात्रै राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी हरिराम ढकालले जानकारी दिए।

उनका अनुसार लक्ष्यभन्दा ५ अर्ब ७९ करोड ५३ लाख ७६ हजार कम राजस्व संकलन भएको हो।

आयकरतर्फ लक्ष्यको ८३ दशमलव २१ प्रतिशत अर्थात् २ अर्ब ५१ करोड २० लाख ९७ हजार, बहालकरतर्फ लक्ष्यको ८३ दशमलव ६१ प्रतिशत अर्थात् ४ करोड ६४ लाख ८५ हजार राजस्व संकलन भएको छ।

यस्तै व्याजकरतर्फ ८२ दशमलव १७ प्रतिशत अर्थात् १ करोड १२ लाख २४ हजार, मूल्य अभिवृद्धि करतर्फ ८१ दशमलव ६८ प्रतिशत अर्थात् १ अर्ब ८२ करोड ३९ लाख ५ हजार, अन्तःशुल्कतर्फ ७६ दशमलव ६६ प्रतिशत अर्थात् १५ अर्ब ९६ करोड ५ लाख ९२ हजार र स्वास्थ्य सेवा करतर्फ १ सय ६१ दशमलव ६१ प्रतिशत अर्थात् २ करोड ६२ लाख ९४ हजार राजस्व संकलन भएको उनले जानकारी दिए।

ढकालका अनुसार बजारमा उत्पादित सामग्रीको मागको संकुचनका कारण लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको हो। मागको संकुचनका कारण उत्पादन घट्दा राजस्वमा पनि कमी आएको छ।

‘मागको संकुचनका कारण आर्थिक गतिविधिमा शिथिलता आएको देखियो। जसका कारण लक्ष्यअनुसार राजस्व संकलन हुन सकेन,’ उनले भने।

कोभिड-१९ पछिको आर्थिक तरलताको प्रभाव बजारमा देखा पर्न थालेको उनले बताए। अघिल्लो आवमा लक्ष्यअनुसार राजस्व संकलन भए पनि गत आर्थिक वर्ष भने काम भएको हो। अघिल्लो आर्थिक वर्षमा २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार राजस्व संकलनको लक्ष्य तोकिएकामा २२ अर्ब २ करोड ३२ लाख २२ हजार राजस्व संकलन भएको थियो।

सो वर्ष लक्ष्यभन्दा १ प्रतिशत राजस्व बढी संकलन भएको उनले बताए।

कार्यालयले खैरहनीमा समेत राजस्व संकलन केन्द्र स्थापना गरी राजस्व संकलन गर्दै आएको छ। जिल्लामा व्यक्तिगत प्यान लिने १ लाख ४४ हजार २ सय ९८ र व्यावसायिक प्यान लिने ६८ हजार ५ सय ९० जना रहेका छन्।

प्रकाशित: १० साउन २०८० ११:३८ | Wednesday, July 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast