काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेता बालकृष्ण खाणलाई कारबाही गर्न नहुने बताएका छन्। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले अदालतमा विचाराधीन विषयमा केन्द्रीय समितिलाई कारबाही गर्ने काम गर्ने अधिकार नहुने बताएका हुन्।
‘हाम्रो परिवारका कुनै सदस्य सार्वजनिक अभियोगमा मुछियो भने हामी लुकाउँछौं कि थपक्क लगेर थानामा बुझाउँछौ? मलाई यत्ति जवाफ चाहियो। होइन भने, कांग्रेस एउटा घर हो, घरको एउटा सदस्यलाई आरोप लाग्यो अनि छिटो पक्रिनु भनेर डेलिगेशन जाने? विश्वकर्माले प्रश्न गरे।
उनले अहिले नै खाणलाई दोषी ठहर गर्न नहुने बताए। ‘दोषी ठहर यही कार्यसमितिले गर्छ भने वकिल पनि राख्नुभएन नि! वकिलले बहस पनि गर्नुभएन,’ उनले भने, ‘अदालतले ठहर नगरुन्जेलसम्म दोषी हो कि निर्दोष पत्ता नलाग्दा नेपाली कांग्रेस त्यस्तो सर्वोच्च अदालतले हो त्यसले दोषी अहिले नै ठहर गर्ने?’
अरू पार्टीले आफ्ना नेता अभियोगमा मुछिँदा जोगाएको भन्दै कांग्रेसले चाहिँ कारबाही गर भन्नु राम्रो नभएको उनको तर्क छ। जारी केन्द्रीय समितिको बैठकमा खाणलाई कारबाही गर्नुपर्ने पक्षमा संस्थापन इतर पक्षका नेता उभिएका छन् भने संस्थापनपक्षका नेता कारबाही गर्न नहुने बताइरहेका छन्।