अमेरिकामा मनाइयो भानुजयन्ती

हिमाल प्रेस १ साउन २०८० २१:०८ | Monday, July 17, 2023
अमेरिकामा मनाइयो भानुजयन्ती

वासिङ्टन डिसी- आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती अमेरिकामा मनाइएको छ।

अन्तर्राष्ट्रिय साहित्य समाज, अनेसास मेरिल्याण्ड च्याप्टरले आयोजना गरेको भानु जयन्तीमा सहभागी वक्ताहरूले नेपाली भाषा र साहित्यको क्षेत्रमा आदिकवि भानुभक्तले पुर्‍याएको योगदान र उनको सिर्जनाको बहुआयामिक पाटोको बारेमा चर्चा गरेका थिए।

उक्त अवसरमा मेरिल्याण्ड जनरल एसेम्बलीका विधायक डा. ह्यारी भण्डारीले भानुभक्तले दुई सय वर्षअगाडि नै नेपाली भाषा र साहित्यको उत्थानका लागि खेलेको भूमिका प्रशंसनीय रहेको बताए। उनले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर नेपाली भाषा र साहित्यको जग बसाउन भानुभक्तले अतुलनीय योगदान गरेको बताए।

कार्यक्रममा मोर्गन स्टेट युनिभर्सिटीका प्राध्यापक डा. उत्तम गौलीले भानुभक्तको रचनामा स्वतन्त्रताको लडाइँसमेत उल्लेख भएको स्मरण गरे।

कार्यक्रममा साहित्यकार गोविन्द गिरी प्रेरणाले भानुजयन्ती मनाउन विदेशस्थित नियोगले विशेष पहल गर्नुपर्ने बताए।

यसैबीच अन्तर्राष्ट्रिय साहित्य समाज अनेसासले प्रदान गर्ने अनेसास सर्वोत्कृष्ट पुरस्कार भारतमा बसेर साहित्य सिर्जना गर्ने रण काफ्लेको उपन्यास ‘रैथाने’लाई प्रदान गरिने भएको छ। दुई हजार डलर राशिको पुरस्कार उक्त कृतिलाई प्रदान गरिने भएको अनेसास पुस्कार छनोट समितिका संयोजक तीर्थ पाण्डेयले जानकारी दिए।

यस्तै डायस्पोरा पुरस्कार महेश्वर पन्तद्वारा लिखित ‘बौलाहाको डायरी’लाई, निबन्ध पुरस्कार श्रीबाबु कार्कीको ‘सन्दिग्ध शताब्दी’, कल्पना खरेलको उपन्यास ‘रानी तलाउ’ र गणेशकुमार जिसीको ‘अरनिको एसिया एक प्रस्तावना’लाई प्रदान गरिएको छ।

यी पुरस्कार होमनाथ सुवेदी, डा. श्याम कार्की, इन्दिरा कार्की, पदम विश्वकर्मा, डिल्लीराम तिम्सिना र सीता शर्माले स्थापना गरेका हुन्।

यसै गरी सर्वोत्कृष्ट काव्य पुरस्कार सिन्धु पौडेलको ‘मृत सागरको उचाइ’, डा. गोविन्द आचार्यको ‘दंगी उर्वशी’, निर्मोही व्यासको ‘आवारा बादल’, कथाकार महेश पौडेलको ‘अपिरिचित अनुहार’ कथा सङ्ग्रहलाई प्रदान गरिएको छ।

यी पुरस्कारको राशि जनही एक हजार डलर रहेको छ। रासस

 

प्रकाशित: १ साउन २०८० २१:०८ | Monday, July 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast