पोखरामा १ करोड लिटर क्षमताको डिजल भण्डारण

हिमाल प्रेस १ साउन २०८० १९:५९
10
SHARES
पोखरामा १ करोड लिटर क्षमताको डिजल भण्डारण

पोखरा- पोखरामा १० हजार किलोलिटर अर्थात् एक करोड लिटर डिजल भण्डारण क्षमताका दुई वटा गृहको उद्घाटन गरिएको छ।

कास्कीको पोखरा महानगरपालिका वडा नं २९ र ३० गगनगौँडामा नेपाल आयल निगमले निर्माण गरेको डिजल भण्डारण गृहको आज ९सोमबार० उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गरे।

सो अवसरमा मन्त्री रिजालले पोखरामा इन्धन भण्डारण गृह निर्माणले मुलुकको ऊर्जा पूर्वाधारलाई सुदृढ गर्दै राष्ट्रको ऊर्जा सुरक्षा सुनिश्चित गरेको धारणा राखे।

नेपाल आयाल निगमका प्रबन्ध निर्देशन ई. उमेशप्रसाद थानीले गगनगौँडामा रहेको यस डिपोको भण्डारण क्षमता विस्तारले गण्डकी प्रदेशमा पेट्रोलियम पदार्थको बिक्री वितरणलाई सुदृढ बनाउन कोसेढुंगा सावित हुने बताए।

नेपाल आयल निगमले २०५८ सालपछि निगमको आफ्नै लगानीमा अघि बढाई मुलुककै डिजल भण्डारणको हिसाबले दोस्रो ठूलो पेट्रोलियम भण्डारण रहेको उन्को भनाइ छ।

‘निर्माण भएका यी भण्डारण गृह तथा पूर्वाधारहरू निगमको भौतिक पूर्वाधारमा प्रगति, नवीनता र आधुनिकताको प्रतीकका रूपमा खडा भएका छन्,’ उनले भने।

सो अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकका लागि इन्धन भण्डारण क्षमता विस्तार आवश्यक भएको बताए। उनले यो भण्डारण गृह पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँगै सञ्चालन आउनुपर्ने भए पनि केही ढिलाइ गरी भएको बताए।

‘विमानस्थल सञ्चालनमा आएसँगै इन्धन भण्डारण गृह पनि सञ्चालनमा आएको भए राम्रो हुन्थ्यो, आगामी दिनमा यस्ता एक अर्काका परिपूरक संरचना निर्माण गर्दा ध्यान दिनुपर्छ,’ प्रमुख आचार्यले भने।

एक महिनाको माग धान्ने क्षमता

निगमका प्रबन्ध निर्देशक थानीका अनुसार गण्डकी प्रदेशमा हरेक दिन करिब ४ लाख ६७ हजार लिटर पेट्रोलियम पदार्थ खपत हुन्छ।

हाल एक दिनमा यस प्रदेशमा ३ लाख २० हजार लिटर डिजल र १ लाख ६० हजार लिटर पेट्रोल बिक्री वितरण भइरहेको छ। यस डिपोमा हाल २२ लाख ८० हजार लिटर डिजल र १० लाख १० हजार लिटर पेट्रोलको भण्डारण क्षमता छ।

प्रदेशभरको हालको दैनिक खपत र भण्डारण अवस्था तुलना गर्दा डिजलको माग करिब सात दिन र पेट्रोलको माग करिब दुई दिन मात्रै धान्न सक्ने क्षमता छ।

थानीका अनुसार आज (सोमबार) उद्घाटन भएका नयाँ भण्डारण परियोजना सञ्चालनमा आएपछि प्रदेशमा डिजलको भण्डारण करिब ३० दिनभन्दा बढी पुग्नेछ भने साविकको सात सय ६० केएल क्षमताको मट्टितेल ट्यांकको पेट्रोल ट्यांक भएको रूपान्तरणले दुई दिनका लागि मात्रै पुग्ने पेट्रोलको भण्डारण करिब १० दिनभन्दा बढी माग धान्न सक्ने भएको छ।

‘विसं २०५८ पछि क्षमता विस्तार र स्तरोन्नति हुन नसकेको यस डिपो अब अमलेखगञ्ज, थानकोटपछि नेपालको तेस्रो ठूलो पेट्रोलियम भण्डारण गृह बनेको छ,’ उनले भने।

निर्माण सम्पन्न परियोजनाले काठमाडौँलगायतका अन्य क्षेत्रको ब्याकअपका रूपमा पनि काम गर्ने उनको भनाइ छ। नवनिर्मित भण्डारण गृहमा एक नयाँ पहुँच सडक, २४ लाख लिटर क्षमताको पानी भण्डारण ट्यांक, चालक तथा सुरक्षाकर्मीका लागि नयाँ संरचना निर्माण गरिएको छ। इन्धन भण्डारण ट्यांक, अग्नि नियन्त्रण उपकरण तथा प्रणाली र यसमा जडान भएका संरचनाहरू जर्मन प्रविधिमा आधारित पूर्ण स्वचालित छन्।

डिजल लोड तथा अनलोड सुविधा पूर्णरूपमा स्वचालित र उच्च प्रविधियुक्त तथा आधुनिक सुरक्षा प्रविधिमा आधारित रहेको निगमको भनाइ छ। नयाँ भण्डारण गृहमा २० हजार लिटर क्षमताका ३२ देखि ४० ट्यांकरले दैनिक डिजल अनलोड गर्न सक्नेछन्।

ट्यांकर लोड तथा अनलोडका लागि प्रतिघण्टा एक सय २० किलोलिटर क्षमताका ६ वटा पम्प जडान गरिएको छ। चार वटा लोडिङ तथा अनलोडिङ बे निर्माण सम्पन्न भएको छ। साथै भण्डारण गृहको तापमान, इन्धन, चुहावट, आगलागीलगायतको दुर्घटना पहिचान गर्न विशेष प्रविधि डिपोमा जडान गरिएको छ।

आतपतकालीन अवस्था आएको खण्डमा एकै स्वीचमा सबै प्रणाली बन्द गर्न सकिने एकीकृत रिमोट कन्ट्रोल प्रविधि जडान गरिएको छ। कुनै पनि कारणबाट डिपोमा आगलागी भएको खण्डमा करिब दुई घण्टासम्म निरन्तर आगो नियन्त्रणका लागि लड्ने क्षमताको पूर्वाधार डिपोमा निर्माण गरिएको  छ। ७० प्रतिशत पानी र ३० प्रतिशत फोमयुक्त नियन्त्रण उपकरण त्यसका लागि प्रयोग गर्न सकिने गरी पूर्वाधार निर्माण गरिएको छ। रासस

प्रकाशित: १ साउन २०८० १९:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + four =