दल दर्ता गर्ने प्रावधानमा कठोर बन्यो आयोग

हिमाल प्रेस २८ असार २०८० ९:१० | Thursday, July 13, 2023
दल दर्ता गर्ने प्रावधानमा कठोर बन्यो आयोग

काठमाडौँ- राजनीतिक दलले दल दर्ता गर्दा पाँच सय जना मतदातालाई सनाखतका लागि निर्वाचन कार्यालयमा अनिवार्य उपस्थित गराउनुपर्ने व्यवस्था गरिएको छ।

यसअघि भने दल दर्ताका क्रममा दलको सदस्य रहने प्रतिबद्धता जनाएका मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नागरिकताको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षर गरेको विवरण बुझाए हुने व्यवस्था थियो।

निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले आयोग पदाधिकारीको असार २४ गतेको बैठकले उक्त व्यवस्था लागु गर्ने निर्णय गरेको जनाएको छ।

राजनीतिक दलसम्बन्धी ऐनको दल दर्तासम्बन्धी दफामा कम्तीमा पाँच सय जना नेपाली मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धतापत्र र निजहरूको नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षर हुनुपर्ने व्यवस्था गरिएको छ।

सो बमोजिम राजनीतिक दलले पाँच सय नागरिकको नागरिकताको प्रमाणित प्रतिलिपि तथा हस्ताक्षरसहित दर्ता गर्न निवेदन दिँदै आएका थिए। ऐनको उक्त व्यवस्थालाई टेकेर प्रक्रियागत सुधारको निर्णय गरेको आयोगले जनाएको छ।

आयोगले गरेको निर्णय आर्थिक वर्ष २०८०/८१ देखि लागु हुनेछ। आयोगमा हाल ११९ दल दर्ता छन्।

प्रकाशित: २८ असार २०८० ९:१० | Thursday, July 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast