सकियो नेपाली सेनाको हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम

हिमाल प्रेस २५ असार २०८० २०:४८ | Monday, July 10, 2023
सकियो नेपाली सेनाको हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम

काठमाडौँ- नेपाली सैनिक वार कलेजमा गत चैत १ गतेदेखि सञ्चालन भएको हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम आज (सोमबार) सकिएको छ।

प्रधानसेनापति प्रभुराम शर्माले कार्यक्रमको समापन गर्दै सफलतापूर्वक तालिम सम्पन्न गरकोमा सम्पूर्ण शिक्षार्थीहरूलाई बधाई दिए। उनले यस तालिमले शिक्षार्थीहरूलाई थप व्यावसायिक एवं परिस्कृत बनाउनाका साथै अपरेसनल तहको कमान्डर तथा स्टाफको हैसियतले रणनीतिक तहका नेतृत्व वर्गले तय गरेका लक्ष्य तथा उद्देश्यहरू पूरा गर्न र तल्लो तहका कमान्डरहरूलाई उक्त मार्गमा डोर्‍याउने गहन जिम्मेवारी उत्कृष्ट ढंगबाट सम्पन्न गर्न सक्षम तुल्याउने बताए।

प्रधानसेनापति शर्माले शिक्षार्थी अधिकृतहरूले तालिमको दौरान प्राप्त गरेका ज्ञानलाई आगामी दिनहरूमा आफ्नो वृत्तिविकास र संस्थागत हितका लागि सामूहिक भावनाका साथ सदुपयोग गर्ने विश्वास व्यक्त गरे।

कलेजका शिक्षाधिकृत उपरथी सहदेव खड्काले तालिमका बारेमा जानकारी गराएका थिए। महिला एक र पुरुष ३२ गरी ३३ जना महासेनानी दर्जाका शिक्षार्थीहरूको सहभागिता रहेको उक्त तालिममा समग्रमा महासेनानी वसन्तबहादुर गौतम प्रथम भए।

त्यस्तै, व्यक्तिगत शोधपत्रतर्फ महासेनानी सुवास केसी र महासेनानी वसन्तबहादुर गौतम प्रथम भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम नेपाली सेनामा सैनिक अधिकृतका लागि सञ्चालन हुने सबैभन्दा उच्चस्तरको तालिम हो। २०७१ सालदेखि नेपाली सैनिक वार कलेजमा सञ्चालन हुँदै आएको यस तालिमबाट हालसम्म महिला १० सहित जम्मा तीन सय पाँचजना अधिकृत प्रशिक्षित भइसकेका छन्।

प्रकाशित: २५ असार २०८० २०:४८ | Monday, July 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast