लिमिटेडले मनपरी रूपमा भाडा बढायो : औद्योगिक महासंघ

हिमाल प्रेस २२ मंसिर २०७९ १८:३५
4
SHARES
लिमिटेडले मनपरी रूपमा भाडा बढायो : औद्योगिक महासंघ

काठमाडौँ– औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले मनपरी रूपमा भाडादर बढाएको भन्दै नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले आपत्ति जनाएको छ। लिमिटेडले नियमविपरीत भाडादर वृद्धि गरेको भन्दै उक्त भाडादर तत्काल फिर्ता गर्न महासंघले माग गरेको छ।

विद्यमान ऐन र नियमविपरीत लिमिटेडले भाडादर वृद्धि गरेकामा विरोध जनाउँदै महासंघले बिहीबार पत्रकार सम्मेलन गर्दै भाडादर तत्काल फिर्ताको माग राखेको छ। निर्यात प्रवर्द्धन गर्ने र उद्योग सञ्चालनमा सहजीकरण गर्नुपर्ने जिम्मेवारी लिएको निकायले उद्योग नै चल्न नसक्ने गरी भाडा वृद्धि गरेको महासंघको ठहर छ।

महासंघको सहमतिविपरीत ०७५ सालमै सञ्चालक समितिले ७ सय प्रतिशतसम्म भाडा बढाएको र अहिले सो कार्यान्वयन गर्ने भन्दै ०७९ साउन २ मा भाडा वृद्धि गर्दै लाखौँको बिल उद्योगमा पठाएको भन्दै महासंघले विरोध गरेको छ।

बैंकलाई ब्याज तिर्न र कर्मचारीलाई तलब खुवाउनसमेत समस्यामा रहेका व्यवसायीलाई भार पर्नेगरी भाडा वृद्धि गरिएपछि आफूहरू विरोधमा उत्रनु परेको महासंघका अध्यक्ष रामहिरा पाठकले बताए।

एकैपटक ७ सय प्रतिशतले भाडा वृद्धि गर्ने कार्य नियमसम्मत नभएको जिकिर गर्दै उक्त निर्णय तत्काल खारेज गर्नुपर्ने पाठकको भनाइ छ।

अध्यक्ष पाठकका अनुसार ०७१ सालमा औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ जारी भएपछि भाडा वृद्धिको मापदण्ड बनाएर ५/५ वर्षमा भाडा वृद्धि गर्नुपर्ने व्यवस्था गरिएको थियो।

०७२/७४ मा १५/१५ प्रतिशतका दरले भाडा वृद्धि गरिएको र ०७५ सालमा एकैपटक ७ सय प्रतिशतले वृद्धि गरिनु नियमसम्मत नभएको व्यवसायीको भनाइ छ।

उद्योगीले उठाएका माग सम्बोधन नगरेका खण्डमा पहिलो चरणबद्ध संघर्षमा उत्रन बाध्य हुने महासंघका पूर्वध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए। नेपालमा हाल १० वटा औद्योगिक क्षेत्र सञ्चालनमा छन्। ती क्षेत्रमा सञ्चालित करिब ७ सय ५० उद्योगबाट विभिन्न शीर्षकमा वार्षिक ५५ अर्ब रुपैयाँ हाराहारी राजस्व बुझाउने गरिएको महासंघको दाबी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast