झापामा ‘लापसे’ जाँच सुरु, प्रयोगकर्ता दिनैपिच्छे पक्राउ

हिमाल प्रेस १४ असार २०८० २१:१६ | Thursday, June 29, 2023
झापामा ‘लापसे’ जाँच सुरु, प्रयोगकर्ता दिनैपिच्छे पक्राउ सांकेतिक तस्बिर।

झापा- झापामा लागुऔषधको सेवन तथा कारोबार नियन्त्रणका लागि प्रहरीले उच्च निगरानी बढाएको छ। नेपाल प्रहरी र सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी दुवैले निगरानी बढाएका हुन्।

पूर्वीनाका काँकडभिट्टामा लागुऔषध नियन्त्रणको नयाँ प्रयोगका रूपमा लापसे (लागुपदार्थ सेवन) जाँच सुरु गरिएको छ। प्रहरीले मापसे (मादक पदार्थ सेवन) जाँचको निरन्तरतासँगै लापसे जाँच पनि सुरु गरेको हो।

लागुऔषध सेवनका कारण समाजमा विभिन्न प्रकृतिका अपराधसँगै दुर्घटनासमेत बढ्न थालेपछि प्रहरीले लापसे जाँच सीमा क्षेत्रबाटै सुरु गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए।

ट्राफिक प्रहरीले निजी तथा सार्वजनिक सवारी, म्याजिक गाडी, सिटी सफारीलगायतका चालकको लापसे जाँच गरिरहेको छ। प्रनाउ भारतीले लापसे जाँच प्रभावकारी देखिएको हुँदा किट खरिदका लागि स्थानीय सरकारसँग अनुरोध गरिएको बताए।

पूर्वीनाका रहेको मेचीनगरमा प्रत्येक वर्ष लागुऔषध प्रयोगकर्ता बढिरहेका छन्। चालु आर्थिक वर्षको ११ महिनामा इप्रका काँकरभिट्टामा दर्ता भएका एक सय ४९ वटा मुद्दामध्ये ४५ वटा लागुऔषधका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार लागुऔषधको कारोबार गरेको अभियोगमा जिल्लामा हरेक दिन औसत एक अभियुक्त पक्राउ पर्ने गरेका छन्। पक्राउ पर्नेमा भारतीय नागरिक पनि छन्।

झापामा भारतसँग एक सय ४४ किलोमिटर लामो खुला सिमाना छ। पूर्वको मेचीनगरमा पश्चिम ब‌ंगाल र दक्षिणको भद्रपुरदेखि गौरीगञ्जसम्म विहार प्रान्तसँग सीमा जोडिएको छ। पश्चिम बंगालसँग सीमा जोडिएको प्रमुख व्यापारिक नाका काँकरभिट्टा, बिहारसँग जोडिएको भद्रपुर र गौरीगञ्जलाई लागुऔषधका कारोबारीले ओसारपसारको अखडा जस्तै बनाएका छन्।

जिल्लामा चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा प्रहरीले विभिन्न स्थानबाट तीन सय तीन जना लागुऔषधका कारोबारी पक्राउ गरेको छ। त्यसमा १५ जना भारतीय नागरिक छन्।

प्रकाशित: १४ असार २०८० २१:१६ | Thursday, June 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast