गत मंगलबार ट्राफिक जाँचका क्रममा प्रहरीको गोली हानेर घाइते भएका १७ वर्षीय नाहेल एमको मृत्यु भएपछि फ्रान्सको राजधानी पेरिसमा तनाव उत्पन्न भएको छ। आक्रोशित स्थानीय सडक प्रदर्शनमा उत्रिएका छन्।
उनीहरूले सवारीसाधन र विद्यालयमा आगो लगाइदिएका छन्। ड्युटीमा खटिएका सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन्। दमकललाई बाटोमै रोकेर अवरोध गरेका छन्। मंगलबार बेलुका प्रहरी थानाअगाडिबाट सुरु भएको प्रदर्शन बिस्तारै वरिपरिका क्षेत्रमा फैलिएको हो।
प्रहरीले अश्रुग्यास र रबर बुलेट प्रयोग गरे पनि भीड अनियन्त्रित बनेको थियो। त्यसपछि हजारौँ सुरक्षाकर्मी प्रदर्शन रोक्न सडकमा खटिएका छन्। प्रहरीले कतिपयलाई पक्राउ पनि गरेको छ। १६ जना प्रदर्शनकारी प्रहरी हिरासतमा छन्। फ्रान्सका सञ्चारमाध्यमबाट प्रसारित भिडियो दृश्यमा एक प्रहरीलाई कार चालकलाई बन्दुक ताकेको देख्न सकिन्छ। तर जब कार नरोकिएर अगाडि बढ्छ प्रहरीले गोली हान्छन्। कार केही अगाडि गएर ठोक्किन्छ।
कारमा दुई जना थिए। तीमध्ये एक जना प्रहरी देखेर भाग्छन्। अर्कोलाई प्रहरीले पक्राउ गर्छ। उनी नाबालिक नाहेल एम हुन्। गोली नजिकबाट चलेकाले उनी घाइते भए। पछि उनको मृत्यु भयो।
उनले भाडामा कार लिएका थिए। अनि ट्राफिक नियम पनि तोडेका थिए। प्रहरीले जाँचका लागि रोक्दा उनले भाग्ने प्रयास गरेका थिए। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले प्रदर्शनकारीलाई शान्त हुन अपिल गरेका छन्। उनले किशोरको हत्यालाई ‘अक्षम्य’ भन्दै न्याय पाउने बताएका छन्। ‘एक किशोरको हत्या भयो, त्यो अकल्पनीय र अक्षम्य छ,’ उनले भनेका छन्, ‘युवाको मृत्युलाई कुनै पनि कुराले न्याय दिन सक्दैन।’
फ्रान्सका गृहमन्त्री जेराल्ड डरमनाले घटनाबारे आन्तरिक छानबिन भइरहेको बताएका छन्। उनका अनुसार घटनाका कारण पेरिस वरपरका धेरै सहर अशान्त छन्। बुधबार बिहानसम्म ३१ जना पक्राउ, २४ प्रहरी अधिकारी घाइते र ४० कार जलाइएको उनले जानकारी दिएका छन्।
पेरिसका प्रहरी प्रमुख लरो नुनेसले एक अन्तर्वार्तामा घटनामा संलग्न प्रहरीमाथि गरिएको कारबाहीले प्रश्न उठाएको बताएका छन्। तत्काल निर्णय लिँदा प्रहरी डराएको हुन सक्नेमा उनले आशंका जनाएका छन्।
फ्रान्सेली सेलिब्रिटीहरूले किशोरको मृत्युमा आक्रोश र शोक व्यक्त गरेका छन्। सरकारले भने बल प्रयोग गरिरहेको छ। सरकारी कदमको चौतर्फी आलोचना पनि भइरहेको छ। फ्रान्सेली पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान तथा पेरिस सेन्ट जर्मेनका स्टार खेलाडी केलियन एमबाप्पेले ट्विटरमा लेखेका छन्, ‘मलाई मेरो फ्रान्सबारे दुःख लागेको छ।’
गत वर्ष फ्रान्समा प्रहरीको ट्राफिक जाँचका लागि रोकिन नमान्दा १३ जनाको मृत्यु भएको थियो। सन् २०१७ मा त्यहाँ कानुन परिवर्तन गरी अधिकारीहरूलाई उनीहरूको हतियार प्रयोग गर्न दिने अधिकार दियो। जसले गर्दा यस्ता घटना बढेको बताइन्छ।
फ्रान्सका वामपन्थी राजनीतिज्ञमध्ये ग्रिन्स पार्टीका नेता मरिन टन्डेलियरले प्रहरीले किशोरको हत्या गरेको आरोप लागाएका छन्। ‘मैले यो भिडियोमा देखेको छु,’ उनले भने, ‘फ्रान्समा दिनकै उज्यालोमा १७ वर्षीय बालकलाई प्रहरीले मृत्युदण्ड दिएको हो।’