स्याङ्जा– स्याङ्जाको गल्याङ नगरपालिका-११ का वडाध्यक्ष दल सिंजालीको बिहान र साँझको समय हिलो, धुलो र गोबरसँग खेलेर बित्ने गरेको छ। सिंजाली बिहानै बंगुरका लागि कुँडोे पकाउनुहुन्छ। कुँडो पाक्दै गर्दा उनी बंगुरको गोबर सफा गर्न थाल्छन्।
अनी पालैपालो बंगुरका माउ र बच्चालाई पाकेको कुँडो खुवाउँछन्। सिंजालीले बंगुरको स्यहारसुसार गरेर सात आठ बजेभित्र नै सक्छन्।
वडा कार्यालय जानुपर्ने भएकाले यो समयमा बंगुरको स्यहार गर्नु उनको तालिका बनेको छ।
समय भएपछि सारा बंगुर स्याहार्ने जिम्मा श्रीमती गंगारानालाई दिएर उनी कार्यालयतिर हानिन्छन्। कार्यालयबाट साँझ अबेर फर्के पनि खोरमा रहेका बंगुर र पाठापाठीको अवस्था हरेर मात्र दल अन्य काममा लाग्छन्।
सिंजालीले ३ वर्षदेखि आफ्नै गाउँ बज्रेमा रजनी कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिक रूपमा बंगुरपालन गर्दै आएका छन्। वार्षिक १४ लाख ४० हजार रुपैयाँ बराबरको मासु र बंगुरका पाठापाठी बिक्री गर्ने गरेको उनको भनाइ छ।
‘एक महिनामा १८ देखि २० बंगुरका पाठापाठी जन्मिन्छन्,’ सिंजालीले भने, ‘बंगुरको पाठापाठी रू छ हजारमा र वयस्क तथा उत्पादन दिन छोडेका बंगुर तौल हेरेर बिक्री गर्ने गरेको छु।’ उत्पादित मासु गल्याङ नगरपालिकाभित्र नै खपत हुने गरेको उनको भनाइ छ।
‘व्यावसाय गरेर आर्थिक रूपमा आत्मनिर्भर बनाउन यो काम गरेको हुँ,’ सिंजालीले भने, ‘यो व्यवसायले परिवारलाई आवश्यक खर्च धानिएको छ, फालिएका अन्नपातको समेत सदुपयोग भएको छ।’ गल्याङको हावापानी बंगुरपालनका लागि उपयुक्त भएको उनको भनाइ छ।
सिंजालीकी जीवनसंगिनी गंगा रानाले श्रीमानको जाँगर र पौरख देखेर आफूलाई गौरव महसुस हुने गरेको बताइन्। ‘उहाँ आइपरेका सबै काम झर्को नमानी गर्नुहुन्छ,’ उनले भनिन्।
गल्याङमा बंगुरको मासु अत्यधिक खपत हुने गरेकाले बजारीकरणको समस्या नभएको गल्याङ नगरपालिकाका पशुशाखा प्रमुख सुशील अर्यालको भनाइ छ।
नगरपालिकाले कृषकलाई समयमा निःशुल्क प्राविधिक सेवा, उपचार, बीउबिजन, निःशुल्क पशु बीमा, फार्म सुधार कार्यक्रमअन्तर्गत अनुदान उपलब्ध गराएका कारण कृषक पशुपालनतर्फ आकर्षित हुँदै गएका उनको भनाइ छ।

                                             
                                             
                                             
                                             
                                             
                                             

