कांग्रेस प्रमुख सचेतक रमेश लेखक
काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्ले बजेट संशोधन गर्नसक्ने व्यवस्था गर्न माग गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा उनले आजसम्म बजेट संशोधन हुन नसक्ने व्यवस्था रहेकाले आगामी दिनमा संसद्ले बजेट संशोधन गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताएका हुन्।
बजेट संशोधन नभए संसद्मा बजेटको सम्बन्धमा भएको छलफलको औचित्यमाथि नै प्रश्न उठ्न थालेको भन्दै उनले यसप्रति सबै गम्भीर हुनुपर्ने बताए। बजेटको सवालमा संसद्को भुमिका निर्धारण गर्न जरुरी रहेको उनको भनाइ थियो। हाल भएको अवधारणा परिमार्जन गरेर संसद्बाट बजेट परिमार्जन हुनसक्छ भन्ने अवधारणा बनाउनुपर्ने उनले बताए।
यद्यपि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट भने समय अभावका कारण संशोधन हुन नसक्ने उनको भनाइ छ। ‘आज एउटा महत्त्वपूर्ण प्रश्न उठेको छ। सदन बाहिर पनि उठेको प्रश्न हो, यदि बजेटमा कुनै पनि संशोधन गर्ने होइन भने यत्रो लामो छलफलको औचित्य के?’ लेखकले भने।


