जसपाका ५ जना केन्द्रीय सदस्य निष्कासित

हिमाल प्रेस ९ असार २०८० २०:४४ | Saturday, June 24, 2023
जसपाका ५ जना केन्द्रीय सदस्य निष्कासित जनता समाजवादी पार्टी(जसपा) नेपालको शनिबार बुद्धनगरमा बसेको केन्द्रीय समितिको बैठक। तस्बिर : रासस

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले ५ जना केन्द्रीय सदस्य निष्कासन गर्ने निर्णय गरेको छ। शनिबार बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो। बैठकले २०७९ मंसिरमा सम्पन्न निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका केन्द्रीय सदस्य दीपेन्द्र नेम्वाङ, देउकुमार नेम्वाङ, महेन्द्र चौधरी, मनोरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार छानबिन समितिको प्रतिवेदनको सिफारिसअनुसार उनीहरूलाई निष्कासन गरिएको हो। साथै पार्टीका केही केन्द्रीय नेताहरूलाई नसिहत दिने निर्णय गरिएको पनि उनले बताए।

कारबाहीको निर्णयउपर चित्त नबुझेमा सम्बन्धित व्यक्तिले १५ दिनभित्र पार्टीको अनुशासन आयोगमा निवेदन दिन सक्नेछन्। बैठकले विधानको मस्यौदा अनुमोदन गरेको छ। अनुमोदित विधानको मस्यौदा आइतबारदेखि सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुनेछ।

सशस्त्र द्वन्द्व, जनआन्दोलन र मधेश जनविद्रोहजस्ता राजनीतिक संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षार्थ गठित पार्टी सम्बद्ध समाजवादी मोर्चालाई पार्टीको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको केन्द्रीय प्रचार विभाग प्रमुख बस्नेतले बताए। केन्द्रीय कार्यकारिणी समिति र राजनीतिक समितिका बैठकले गरेका यसअघिका निर्णयलाई समेत शनिबारको बैठकले अनुमोदन गरेको छ।

 बैठकमा केन्द्रीय समितिका ४ सय २३ सदस्य साथै प्रदेश समिति, राष्ट्रिय समिति, विशेष प्रदेश समिति, जिल्ला समिति, महानगर, भातृ संगठन तथा केन्द्रीय समितिबाट मानोनित हुने १० जनासहित ७ सय ७८ प्रतिनिधि सहभागी हुने पार्टीले बताएको छ। सहभागी प्रतिनिधिलाई ११ वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ। रासस

प्रकाशित: ९ असार २०८० २०:४४ | Saturday, June 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast