बागमती सरकारले आठ कृषि फार्मलाई राहत वितरण गर्ने

हिमाल प्रेस ९ असार २०८० ८:२० | Saturday, June 24, 2023
बागमती सरकारले आठ कृषि फार्मलाई राहत वितरण गर्ने फाइल तस्बिर।

काठमाडौँ– बागमती प्रदेश सरकारले कृषि क्षेत्रमा विपद्ले क्षति भएका कृषकलाई ५४ लाख राहत वितरण गर्ने शुक्रबार निर्णय गरेको छ।

बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशको विभिन्न स्थानका आठ कृषि फार्मलाई ५४ लाख राहत प्रदान गर्ने निर्णय गरेको सो मन्त्रालयले जनाएको छ।

प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विपद्को समयमा क्षति पुगेका आठ कृषि फार्मलाई राहत प्रदान गर्ने निर्णय गरेको हो।

मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को वार्षिक एकीकृत कार्यक्रमअनुसार आपत्कालीन र आकस्मिक रोग तथा क्षति न्यूनीकरण कार्यक्रमअन्तर्गत राहत वितरण कार्यविधि २०७९ बमोजिम राहत प्राप्त गर्न इच्छुक कृषकबाट गत मंसिर महिनादेखि आवश्यक कागजात माग गरिएको थियो।

सो मागबमोजिम आवेदन प्राप्त भएका ४० कृषकमध्ये ८ कृषि फार्मलाई राहत प्रदान गर्ने छनोट भएको मन्त्रालयका प्रवक्ता झलकनाथ कँडेलले जानकारी दिए।

बैठकले राहतका लागि छनोट भएका कृषि फार्ममा नोवेल कृषि फार्म धुलिखेल, हाम्रो माझीफेदा पशुपालन तथा कृषि फार्म चौरी देउराली, दाजुभाइ एकीकृत बहुद्देश्यीय कृषि फार्म पनौती, गैरी गाउँ कृषि तथा पशुपन्छी फार्म पनौती, टिमभिजन एग्रीकल्चर फार्म पनौती, श्रेष्ठ बंगुर फार्म पनौती, एसएस बंगुर माछा तथा कृषि फार्म बनेपा, तथा उभौली हाम्रो बंगुर फार्म पनौती रहेका जनाइएको छ।

छनोटमा बाँकी रहेका ३२ आवेदकको आवश्यक कागजात नुगेकाले छानबिन गरी अर्को बैठकबाट निर्णय गरिने बताइएको छ।

प्रकाशित: ९ असार २०८० ८:२० | Saturday, June 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast