ताप्लेजुङ पहिरोले मेची राजमार्ग अवरुद्ध, दोभान बजार जोखिममा

हिमाल प्रेस ३ असार २०८० ७:०९ | Sunday, June 18, 2023
ताप्लेजुङ पहिरोले मेची राजमार्ग अवरुद्ध, दोभान बजार जोखिममा

ताप्लेजुङ– अबिरल वर्षासँगै आएको बाढीले ताप्लेजुङको सिदिंवा गाउँपालिकास्थित आंखोपमा तीन घर बगाएको छ। गए राति इंवाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको स्थानीय शिक्षक चैतन्य बुढाथोकीले जानकारी दिए।

उनका अनुसार सोही क्षेत्रका डिल्ली सेलिङ, रामबहादुर सेलिङ र मीन बुढाथोकीको घर जोखिममा छन्। वर्षासँगै आएको बाढी बस्तीतर्फ पसेपछि घर छाडेर सुरक्षित क्षेत्रमा सरेकाले मानवीय क्षति भएको छैन।

बाढीले इंवाखोला जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ। खोला किनारको खेतीयोग्य जमिनसमेत बगाएको छ भने केही पशुचौपायासमेत बगाएको जनाइएको छ।

यसैगरी मैवाखोलामा आएको बाढीले दोभानबजार जोखिममा परेको छ। बाढीले बजार क्षेत्र कटान गरेपछि दुई घर उच्च जोखिममा रहेको स्थानीय प्रदीप पोखरेलको भनाइ छ।

उनका अनुसार दीपक धिताल र सुकबहादुर लिम्बूको घर उच्च जोखिममा छन्। बाढी सामान्यतया घटे पनि पानीको बहाव घटेको छैन। मध्यरातमा बाढी आएपछि बजारका आधाजसो घरपरिवार अन्तै सरेका छन्।

बाढीले मेरिंदेन गाउँपालिकातर्फ जाने खोला किनारको सडकसमेत बगाएपछि बाटो पूर्ण रूपमा अवरुद्ध बनेको बताइएको छ।

मैवाखोला-२ र ५ वडा जोड्ने खार्तेखोलाको झोलुंगे पुल बगाएको स्थानीयले बताए। रातभर अत्यधिक वर्षासँगै ठाउँ-ठाउँमा बाढी र पहिरो झरेपछि जिल्लाका अधिकांश गाउँघरका मानिस रातभर नै जाग्राम बस्नुपरेको छ। जिल्लाका सबै ठाउँमा वर्षा भएको थियो।

बिहीबार रातिमात्र सिरीजंघा गाउँपालिकाको याम्फुदिनमा बाढीले क्षति पुगेको थियो। यहाँका ५ वटा सरकारी कार्यालय स्थानान्तरण गरिएको छ भने १५ घरपरिवार अन्तै सरेर बसेका छन्।

यसैबीच मेची राजमार्गअन्तर्गत हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवाखोलामा आएको बाढीले पुल बगाएपछि मेची राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ।

प्रकाशित: ३ असार २०८० ७:०९ | Sunday, June 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast