दुई किलोमिटर सडक ५ वर्षसम्म अधुरो, स्थानीय आन्दोलित

हिमाल प्रेस २ असार २०८० १८:०५ | Saturday, June 17, 2023
दुई किलोमिटर सडक ५ वर्षसम्म अधुरो, स्थानीय आन्दोलित

बाँके- करिब दुई किलोमिटर सडक निर्माणको काम ५ वर्षसम्म पनि पूरा नभएपछि बाँकेको खजुराका स्थानीय आन्दोलित बनेका छन्। सडक अलपत्र पारेको भन्दै स्थानीयले शनिबार आन्दोलन गरेका हुन्।

नेपालगञ्ज–गुलरिया सडकअन्तर्गतको खजुरा बजार क्षेत्रमा पर्ने १८ सय मिटर सडक निर्माणमा अनियमितता भएको भनाइ स्थानीयको छ। ठेकेदार र सडक आयोजनाका अधिकारीहरूको मिलेमतोमा सडक अधुरो छाडिएको, गरिएको काम पनि गुणस्तरहीन भएको भन्दै स्थानीयले नेपालगञ्ज–गुलरिया सडक अवरुद्ध गरेका छन्।

खजुरा क्षेत्र संरक्षण समितिको आह्वानमा खजुरा बजारका हरेक घरबाट एक सदस्य सडकमा निस्केर प्रदर्शन गरिएको खजुरा क्षेत्र संरक्षण समितिका अध्यक्ष प्रेम बुढाथोकीले बताए। बाँकेको खजुरा बजारमा १ हजार ८ सय मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा इलामको गजुरमुखी कन्स्ट्रक्सन कम्पनीले निर्माणको ठेक्का लिएको थियो।

२०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि अहिलेसम्म निर्माण सकिएको छैन। बाँकेको खजुरा बजारमा १ हजार ८ सय मिटर र बर्दियाको गुलरियामा २ हजार २ सय मिटर लम्बाइको सडक निर्माणका लागि २१ करोड ४९ लाख रुपैयाँमा सम्झौता गरिएको थियो। निर्माण कम्पनीले निर्माण कार्यमा ढिलाइ गर्दा स्थानीयले विगत ५ वर्षदेखि धुलो, हिलोबाट सास्ती भोग्नुपरेको छ।

ठेकेदार कम्पनीलाई सडक डिभिजनले काम गरेकोभन्दा बढी रकम भुक्तानी दिएका कारण ठेकेदारको लापरवाही र अराजकता बढेको स्थानीयको आरोप छ।

प्रकाशित: २ असार २०८० १८:०५ | Saturday, June 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast