आजदेखि भित्रियो मनसुन, २ लाख घर परिवार बाढी पहिरोको उच्च जोखिममा

हिमाल प्रेस ३२ जेठ २०८० ११:०५ | Thursday, June 15, 2023
आजदेखि भित्रियो मनसुन, २ लाख घर परिवार बाढी पहिरोको उच्च जोखिममा फाइल तस्बिर।

काठमाडौँ– नेपालमा यस वर्षको मनसुन बुधबारदेखि भित्रिएको छ। नेपालमा मनसुन भित्रिने सरदर समय जुन १३ तारिख भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार नेपाल भित्रिएको मनसुन कोशी, पूर्वीमधेश, बागमती प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशका पूर्वी भूभागसम्म पुगेको मौषमविद् राजु प्रधानांगले जानकारी दिए। उनका अनुसार नेपालका अन्य भू-भागमा भने केही दिनमा क्रमिक रूपमा मनसुन फैलिँदै जाने छ।

यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले यसअघि नै गरिसकेको छ। यद्यपि, यो सम्भावना स्थानपिच्छे फरक-फरक हुने जनाइएको छ।

यसअघि गत २ वर्ष लगातार औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण विभागले गरेको थियो। गत वर्ष भने औसतमै वर्षा भएको थियो। नेपालमा जुन, जुलाई, अगस्त र सेप्टेम्बर चार महिनालाई मनसुनको अवधि मान्ने गरिएको मौषमविद् प्रधानाङगको भनाइ छ।

यसपालिको मनसुनमा देशभर १२ लाख ५४ हजारभन्दा धेरै नागरिक प्रभावित हुने अनुमान गरिएको छ। विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २ लाख ८६ हजारभन्दा बढी घरपरिवारलाई यस वर्षको मनसुनले असर गर्नसक्ने सम्भावना छ।

पछिल्लो २४ घण्टामा लमजुङको खदीबजारमा सबैभन्दा बढी एक सय ३५ दशमलव २ मिलिमिटर वर्षा मापन गरिएको महाशाखाले जनाएको छ। त्यसैगरी बुधबार काठमाडौँमा ३९ दशमलव ५ मिलिमिटर पानी परेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ।

प्रकाशित: ३२ जेठ २०८० ११:०५ | Thursday, June 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast