सुनसरीको इनरुवा–९ स्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको शाखा नहरमा पौडी खेल्दै स्थानीय बालबालिका। तराईमा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ। तस्बिर : रासस
काठमाडौँ- देशका मध्य तथा पश्चिम तराईका भूभागमा आज पनि अत्यधिक गर्मी हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले मंगलबार जारी गरेको मौसमी अपडेटअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। महाशाखाले भनेको छ, ‘अत्याधिक गर्मी, मेघगर्जन रचट्याङ तथा वर्षाबाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’
देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार आगामी केही दिन सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको तराईका धेरैजसो भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना यथावत् रहेको महाशाखाको मौसमी विवरणमा उल्लेख छ।
नेपालमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ। कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। कोशी तथा बागमती प्रदेशका केही स्थानहरू साथै मधेश र गण्डकी प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएका छ।
मंगलबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


