सांसद आक्रमणप्रति एमालेको विरोध, माग्यो गृहमन्त्रीको जबाफ

हिमाल प्रेस २६ जेठ २०८० ११:४८ | Friday, June 9, 2023
सांसद आक्रमणप्रति एमालेको विरोध, माग्यो गृहमन्त्रीको जबाफ फाइल फोटो

काठमाडौँ- नेकपा एमालेले कोशी प्रदेशसभाका सांसद राम रानामाथि भएको आक्रमणका सम्बन्धमा गृहमन्त्रीको जबाफ मागेको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एमाले सांसद योगेश भट्टराईले घटनाका सम्बन्धमा जबाफ माग गरेका हुन्।

इलामको सोम्याकमा बिहीबार सांसद रानामाथि आक्रमण भएको भट्टराईले बताए। यस्तै उदयपुरमा कोशी प्रदेशसभाका उपसभामुखमाथि भएको आक्रमणको पनि एमालेले जबाफ माग गरेको छ।

साथै भट्टराईले कोशी प्रदेश नाम राखिएको विरोधमा भएको प्रदर्शनमा मृत्यु कसरी भयो भन्ने सन्दर्भमा पनि गृहमन्त्रीसँग जबाफ मागेका छन्।

कोशी प्रदेशको नाम के राख्ने भन्ने विषय प्रदेशको आफ्नै अधिकार रहेकाले संवैधानिक रूपमा लोकतान्त्रिक पद्धतिबाट जे नाम राखे पनि आफ्नो पार्टीलाई स्वीकार्य रहेको भट्टराईको भनाइ छ। उनले भने, ‘प्रदेशको नाम के राख्ने भन्ने प्रदेशसभाको कुरा हो। परिवर्तन गर्ने हो भने प्रदेशसभाबाट वैधानिक प्रक्रियाबाट गर्दा हामीलाई स्वीकार्य छ। जातीय, धार्मिक र साम्प्रदायिक कुरा हामीलाई स्वीकार्य छैन।’

प्रदेशसभाको नामकरणकै विषयमा केही महिनाअघि एमाले अध्यक्ष केपी शर्मा ओली र नेता सुवास नेम्बाङको टोलीलाई झापाको चारआली, इलाम, पाँचथरका सडकमा अवरोध गरिएको भन्दै भट्टराईले यस्ता घटना सरकारकै संरक्षणमा भइरहेको आरोप लगाए। उनले भने, ‘नेताहरूलाई लक्षित गरेर एम्बुस पनि थापिएको थियो। नेताहरूको हत्या प्रयास भएको छ।’

यस्ता घटना नियन्त्रणमा सरकारको ध्यान जान नसकेको उनको भनाइ छ। उनले भने, ‘नेतालाई एम्बुससमेत थापेर मार्न खोजिन्छ भने बुद्धको देश कता जाँदैछ?’ पहिचानवादीहरूले विराटनगरमा आयोजना गरेको प्रदर्शनका एक जना प्रदर्शनकारीको मृत्यु कसरी भएको थियो भन्ने प्रश्न पनि एमालेले उठाएको छ।

भट्टराईले भने, ‘प्रदर्शनकारीको मृत्यु प्रहरीको लाठीबाट भएको हो कि होइन? प्रदर्शनकारीकै तर्फबाट भएको लाठी प्रहारबाट उनको मृत्यु भएको भन्ने छ। प्रहरीले आक्रमण गरेको भए उसलाई कारबाही गर्नपर्छ। यसको जबाफ चाहिन्छ।’

बिहीबार उदयपुरको गाईघाटमा कोशी प्रदेशका उपसभामुखमाथि आक्रमण हुँदा प्रहरी मौन बसेको भट्टराईको भनाइ छ। उनले भने, ‘एमाले संयमित पार्टी हो। एमालेलाई लखेट्ने काम भइरहेको छ। एमालेमाथि निशाना लगाइन्छ भने नेताको सुरक्षा एमालेले गर्छ।’

प्रकाशित: २६ जेठ २०८० ११:४८ | Friday, June 9, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast