काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामदेव गौतमको पार्टी सदस्यता एमालेमै रहेको बताएका छन्। एमालेले ७० वर्षे उमेर हद हटाएपछि वामदेवले आफू फर्किन तयार रहेको बताएलगत्तै ओलीले उनको सदस्यता एमालेमै रहेको बताएका हुन्।
ओलीले भने,’वामदेव गौतमको सदस्यता एमालेमै छ।’ संघीय संसद् भवन परिसरमा बुधबार अपराह्न सञ्चारकर्मीले ७० वर्षे उम्मेर हद हटाउने हो भने वामदेव गौतमले एमाले आउने कुरा गर्नुभयो नि भनी प्रश्न गरेका थिए। ओलीले अब थप केही कुरा छ र? भन्ने प्रतिक्रिया दिए।
गौतमले पार्टी एकता अभियान चलाएको र नयाँ पार्टी नबनाएको ओलीको भनाइ छ। उनले भने, ‘उहाँले बीचमा पार्टी होइन एउटा फोरम बनाउनुभयो। एकता अभियान चलाउनुभयो। त्यो अभियान मात्रै हो। पार्टी खोलेको होइन। एमालेमा जान्छु भन्नुभएको छ। त्यो ठिक छ। ठिक छ। उहाँको पार्टी सदस्यता एमालेमै छ।’
काठमाडौंमा भएको नवौँ महाधिवेशनमा माधव नेपाललाई हराउँदै ओली अध्यक्ष भएका थिए। त्यसबेला ओलीकै प्यानलबाट वामदेव उपाध्यक्ष बनेका थिए। २०७७ मा माओवादीसँग एकता गरेर नेकपा बनेर फेरि एमाले र माओवादी ब्युँतिने अवस्थामा गौतम ओलीको विरोधी भएर निस्किए।
नेकपा खारेज भएपछि गौतम एमाले छोडेको भन्दै उनी कम्युनिस्ट एकता अभियान चलाउन सक्रिय भए। एमालेको उपाध्यक्ष भएकै अवस्थामा वामदेवले २०७८ भदौ १८ गते पार्टी परित्याग गरेका थिए।
आज राष्ट्रियसभाबाट बाहिरिने क्रममा वामदेवले पनि आफ्नो सदस्यता एमालेमै रहेको र अघिल्लो वर्षसम्मको नवीकरण भएको बताएका थिए। यस वर्ष पनि श्रीमतीमार्फत नवीकरण गर्ने तयारीमा रहेको उनको भनाइ थियो।
गौतमले ७० वर्षे उमेर हद हटिसकेको अवस्थामा ओलीले नै बोलाए एमालेमै फर्केर सक्रिय हुन तयार रहेको बताएका छन्।
उमेर हद हटाएछन्, केपी ओलीले बोलाए एमालेमै फर्किन्छु : वामदेव गौतम




