काठमाडौँ- भारतको बथनाहादेखि विराटनगरस्थित नेपाल कस्टम यार्डसम्म कार्गो रेल सञ्चालन भएको छ। बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा कार्गो रेल सञ्चालनको उद्घाटन गरेका हुन्। दुवै प्रधानमन्त्रीले हरियो झण्डा देखाएर कार्गो रेल सञ्चालनको उद्घाटन गरे।
यो रेल सञ्चालनसँगै कच्चा पदार्थको आयात र उत्पादित वस्तुको निर्यात सहज हुने विश्वास लिइएको छ। विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकीसम्म आइपुग्ने सो मालवाहक रेलले आज केही उद्योगका लागि कच्चापदार्थ बाेकेकाे छ। अब रेलमार्ग नियमितरुपमा सञ्चालन हुनेछ।
सञ्चालनमा आएकाे रेलमार्गको दूरी भारतको सीमा क्षेत्र बथनाहाबाट विराटनगरसम्म ८ किलोमिटर छ। बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म १८ किलोमिटर लामो रेलमार्ग सन् २०११ देखि निर्माण सुरु भएको थियो। कूल लम्बाइमध्ये भारततर्फ ५ र नेपालतर्फ १३ किलोमिटर छ। केही स्थानमा रहेको मुआब्जा विवादले ८ किलोमिटर मात्रै पूरा भएको छ।
भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा यो रेलमार्ग निर्माण भएको हो। आयोजनाको कूल लागत ३ अर्ब ७३ करोड भारतीय रुपैयाँ छ। उक्त रेलमार्ग निर्माणको जिम्मा भारतीय कम्पनी इरकोनले लिएको छ।

