म्याग्दीमा खडेरी र फौजी किरोको प्रकोपले मकै बालीमा क्षति

हिमाल प्रेस १३ जेठ २०८० १३:५२ | Saturday, May 27, 2023
म्याग्दीमा खडेरी र फौजी किरोको प्रकोपले मकै बालीमा क्षति फाइल तस्बिर।

म्याग्दी– समयमा नै पानी नपर्दा ढिलो गरी मकै रोपेका म्याग्दीका किसान मकै उम्रेदेखि नै फौजी किरोको प्रकोप देखिएपछि उत्पादन घट्ने चिन्तामा छन्। विगतका वर्षको तुलनामा यसवर्ष म्याग्दीमा मकैको उत्पादन घट्ने चिन्ताले किसान निराश बनेका हुन्।

जिल्लाको पश्चिमी, उत्तरी, कालीगण्डकी र म्याग्दी नदी तटीय क्षेत्रका किसानले लगाएको मकै बालीमा रोग तथा फौजी किरोको प्रकोप देखिनुका साथै ढिलो गरी वर्षा हुँदा मकैका बोटसमेत फस्टाउन नपाएका बाबियाचौरका किसान मणि कँडेलले बताए।

जिल्लाको लेकदेखि बेंशीसम्मका अधिकांश खेतीयोग्य जमिनमा मकैको खेती हुन्छ। कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार जिल्लाको ११ हजार हेक्टर क्षेत्रफलमा वार्षिक ३७ हजार ८ सय १७ टन मकै उत्पादन हुन्छ। यहाँबाट करिब २५ टन मकैको बीउ पर्वत, पोखरा, चितवन, लमजुङ, गोर्खा, डोल्पा, जुम्लामा पठाइन्छ।

‘म्याग्दी मकै खेतीमा आत्मनिर्भर छ, तर यस वर्ष भने समयमै वर्षा नहुँदा र रोग किरोको प्रकोप देखिएको हुँदा विगतको जस्तो उत्पादन हुँदैन कि भन्ने आशंका छ’, कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले बताए।

खानाबाहेक बीउ मकै उत्पादन गरी बाहिर जिल्ला पठाइने उनले जानकारी दिए।

जिल्लामा मकै खेती कूल ६० प्रतिशत खेतीयोग्य भू-भागमा गरिएको कृषि ज्ञान केन्द्रको एक तथ्यांकले देखाएको छ। म्याग्दीको खेतीयोग्य भू-भागमा मकै खेतीप्रति हेक्टरमा तीन हजार दुई सय ८० किलोका दरले उत्पादन हुने गर्दछ।

जिल्लाको १ हजार ६ सय मिटरभन्दा तल्लो क्षेत्रमा मनकामना-१, ३, देउती, शीतला र उपल्लो क्षेत्रमा अरुण-१, २, हिलपुल सेतो र स्थानीय जातका मकै खेती गरिन्छ। पोसिलो मकै रत्नेचौर, बगरफाँट, घतान, पुलाचौर, सिँगा, पात्लेखेत, झीँ, भगवती, घार, बाबियाचौर क्षेत्रमा बढी खेती गरिन्छ।

यस्तै, उत्पादन राम्रो भए पनि राष्ट्रिय मकै बाली अनुसन्धान केन्द्र रामपुरले ‘गरिबका लागि’ भनी सिफारिस गरेको पोसिलो-१ मकै कृषकले नरुचाएको कृषि प्राविधिकको भनाइ छ। जिल्लामा उत्पादन भएको कूल मकै खेतीको ३७ हजार ८ सय १७ मेट्रिकटनमध्ये २२ हजार सात सय ८४ मेट्रिकटन मकै प्रशोधित तथा खानका लागि योग्य मानिन्छ।

कृषकहरूले समयमै मल र बीउ प्राप्त गर्न नसक्नु, समयमै वर्षा नहुनु तथा मकै हुर्कंदै जाँदा रोग किरोको प्रकोप देखिनुजस्ता कारणले यस वर्ष मकै उत्पादन घट्ने अनुमान कृषि प्राविधिकको छ। म्याग्दीमा मकै माघ-फागुनमा लगाई असारदेखि भदौसम्म थन्क्याउने गरिन्छ। हिउँदेबाली असोज र कात्तिकमा लगाइ फागुन र चैतमा थन्क्याउने गरिन्छ। -रासस

प्रकाशित: १३ जेठ २०८० १३:५२ | Saturday, May 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast