म्याग्दीमा रैथाने गुराँसले थप्दै पदमार्गको आकर्षण

हिमाल प्रेस १३ जेठ २०८० ८:५० | Saturday, May 27, 2023
म्याग्दीमा रैथाने गुराँसले थप्दै पदमार्गको आकर्षण

म्याग्दी– नेपालमा मात्र पाइने रैथाने प्रजातिका गुराँस म्याग्दीको मौसिज हर्गोज पदमार्गको आकर्षण बनेको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङदेखि हुमखोला हुँदै अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौसिस हर्गोज पदमार्गमा पाइने रोडोडेन्ड्रन कोवानियनम र रोडोडेन्ड्रन लोन्डेसी नेपालमा मात्रै पाइने रैथाने गुराँस प्रजाति हुन्।

२ हजार ८ सय ८३ मिटर उचाइको हुमखोलादेखि ३ हजार ५ सय ५३ मिटर उचाइमा रहेको भुसकेटमेला पुग्ने अन्नपूर्ण खोला वारिपारिका पाखामा वसन्त ऋतुमा ढकमक्क फुलेको गुराँसले पर्यटक लोभ्याएको छ।

अन्नपूर्ण गाउँपालिका-४ का वडाध्यक्ष लोक फगामीले अन्नपूर्ण हिमाल आरोहण, पच्चकुण्ड नारच्याङ ताल र मौसिज हर्गोज पदमार्ग भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि फुच्चे गुराँस थप आकर्षण बनेको बताए।

‘मौरिस हर्गोज पदमार्ग आरोहण र पदयात्राका लागि मात्र नभएर नेपालमा मात्र पाइने गुराँसको अवलोकन गर्न सकिन्छ’, उनले भने, ‘झाडीधार वनस्पतिमा पर्ने यो प्रजातिको गुराँस लाङटाङ र गोसाइँकुण्ड क्षेत्रमा पाइने अभिलेख भएको छ।

आधा मिटरदेखि ३ मिटरसम्मको उचाइ हुने यो गुराँस फुलेको बेला पातसँगै निस्कने वनस्पतिविद् कमल मादेनले बताए। उनका अनुसार लाङटाङ क्षेत्रमा यो गुराँसलाई किसुर भनेर पनि चिनिन्छ।

‘अप्रिलदेखि जुन महिनामा फुल्ने यो गुराँस गुलाबी हुन्छ। रोडोडेन्ड्रन कोवानियनमको पातमा रौंजस्ता ससाना भाग देखिन्छन्’, उनले भने, ‘रोडोडेन्ड्रन कोवानियनम र रोडोडेन्ड्रन लोन्डेसी नेपालमा मात्रै पाइने रैथाने गुराँस प्रजाति हुन्। यी नेपालबाहेक संसारका अन्य स्थानमा रेकर्ड भएका छैनन्।’

सन् २०१९ मा नारच्याङदेखि अन्नपूर्ण आधार शिविर भ्रमणमा जाने क्रममा उनले यो प्रजातिको गुराँस पहिचान गरेका थिए। रोडोडेन्ड्रन कोवानियनम प्रजातिको फूल फुल्दा पात कम पलाएका हुन्छन्।

सन् १९५० मा बेलायती वनस्पतिविद् ओलेग पोलुनिन नेपालमा अध्ययन गर्न आएका बेला यो प्रजाति लाङटाङबाट संकलन गरेका थिए। अध्ययन गर्ने क्रममा यो संसारकै लागि नयाँ प्रजातिको गुराँस भएकाले यसको नाम रोडोडेन्ड्रम कोवानियनम राखिदिएका थिए। उक्त नाम स्कटिस वनस्पतिविद् जोन म्याकक्विन कोवानको सम्मानमा राखिएको थियो।

रोडोडेन्ड्रन कोवानियनम प्रजातिको गुराँसको उचाइ डेढदेखि ३ मिटरसम्म हुन्छ। यो गुराँस पूर्णरूपमा फुल्दा पात पलाइसकेको हुने मादेनले बताए। विश्वमा गुराँसका हजारभन्दा बढी प्रजाति छन्। तीमध्ये नेपालमा ३३ प्रजाति पाइन्छन्। नेपालमा पाइने गुराँसमध्ये २ वटा रैथाने हुन्।

अरू अन्य मुलुकमा पनि पाइन्छन्। रोडोडेन्ड्रन कोवानियनमको फूल गुलाबी रङको हुन्छ। -रासस

प्रकाशित: १३ जेठ २०८० ८:५० | Saturday, May 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast