राप्रपा नेपालको बैठकमा प्रदेश संरचना खारेज गर्नुपर्नेबारे बहस

हिमाल प्रेस ८ जेठ २०८० १३:४७ | Monday, May 22, 2023
राप्रपा नेपालको बैठकमा प्रदेश संरचना खारेज गर्नुपर्नेबारे बहस फाइल तस्बिर।

काठमाडौँ- राप्रपा नेपालको कार्य सम्पादन समिति बैठकमा प्रदेश संरचना खारेज गर्नुपर्ने विषयमा बहस भएको छ। मुलुकले संघीयता धान्न नसक्ने भन्दै केन्द्रमा बलियो सरकार र तल्लो तहमा अधिकार सम्पन्न स्थानीय तह भए पुग्ने भएकाले बीचको प्रदेश संरचना खारेज गर्नुपर्ने विषयमा सोमबार बैठकमा छलफल भएको हो।

प्रदेश संरचना खारेज गर्नुपर्ने माग राख्ने पार्टीले पार्टीको प्रदेश कार्यसमिति पनि हटाउनुपर्नेमा बैठकले जोड दिएको छ। यसबारेमा केन्द्रीय समितिमा विस्तृत छलफल भई निर्णय हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

यस्तै बैठकले केन्द्रीय समितिमा प्रस्तुत हुने राजनीतिक कार्यपत्र र प्रतिवेदनहरू अनुमोदन गरेको छ।

पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत ‘वर्तमान परिस्थिति एवं राप्रपा नेपालको वैचारिक ,सांगठनिक तथा रणनीतिक कार्यदिशा र कार्ययोजना’ , महामन्त्रीहरू भाष्कर भद्रा, सुशील श्रेष्ठ, राजाराम बर्तौला र केशवराज श्रेष्ठद्वारा प्रस्तुत सचिवालय , प्रशिक्षण, संगठन र युवा स्मार्ट पार्टी निर्माणसम्बन्धी प्रतिवेदन अनुगमन गरिएको हो।
यस्तै कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन माथि छलफल गरी केन्द्रीय समितिमा प्रस्तुत गर्न अनुमोदन गरिएको छ।

बैठकले जनवर्गीय संगठन, विभाग र समितिहरूको ६ महिने कार्ययोजनाहरूलाई पनि केन्द्रीय समितिमा प्रस्तुत गर्ने गरी अनुमोदन गरेको छ। राप्रपा नेपालको केन्द्रीय समितिको बैठक जेठ ९ र १० गते काठमाडौँमा बस्दैछ।

प्रकाशित: ८ जेठ २०८० १३:४७ | Monday, May 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast