झापा- झापाको बुद्धशान्ति गाउँपालिका-३, चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती मृत फेला परेको छ। आज (सोमबार) बिहान स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
स्थानीयवासी तीर्थ तिम्सिनाले घटनास्थलमा अहिले डिभिजन वन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीलगायतको टोली पुगिसकेको जानकारी दिए।
हात्ती मृत फेला परेको स्थानमा विद्युतीय तारबार छैन। हात्तीको मृत्युको कारणबारे खोजी भइरहेको प्रहरीको भनाइ छ।
स्थानीयवासीले मृत हात्तीमाथि पूजाआजासमेत गरेका छन्। झापामा चालु आर्थिक वर्षमा योसँगै हात्तीको मृत्यु हुनेको संख्या दुई पुगेको छ। हात्तीको आक्रमणबाट पाँच जनाको मृत्यु भएको डिभिजन वन कार्यालयले जनाएको छ।
प्रकाशित: ८ जेठ २०८० ८:२१ | Monday, May 22, 2023
प्रतिक्रिया




