काठमाडौँ– नेकपा (एमाले) ले नीति तथा कार्यक्रममा कुनै सपना नभएको टिप्पणी गरेको छ। शुक्रबार संसद् भवनबाट बाहिरिनेक्रममा एमाले सांसद योगेश भट्टराईले नीति तथा कार्यक्रममा ज्यान भएको तर प्राण नभएको भन्दै कटाक्ष गरे।
उनले भने, ‘नीति तथा कार्यक्रम ज्यान भएको, जीवन नभएको, प्राण नभएको। यसमा कुनै सपना छैन। जोश छैन। जाँगर छैन।’
मुलुकले भोगिरहेका समस्या समाधान गर्ने ठोस उपाए र प्रस्ताव नआएको उनको भनाइ छ। आजका आर्थिक, सामाजिक चुनौती समाधान गर्ने प्रस्ताव नराखिएको भट्टराईले बताए।
त्यस्तै, सांसद रघुजी पन्तले नीति कार्यक्रमले यथास्थितिलाई नै निरन्तरता दिने बताए। ‘यो नीति तथा कार्यक्रमले जे जस्तो यथास्थिति छ। त्यसलाई निरन्तरता दिन्छ। यथास्थिति तोडेर मुलुकलाई नयाँ गन्तव्य देखाएको छैन’ पन्तको भनाइ छ।
पन्तले औद्योगिकरण, कृषिको संरक्षण र राष्ट्रि पुँजीको विकासमा जोड दिनुपर्ने भन्दै त्यसको अभाव रहेको टिप्पणी गरे।