तिब्बती महिलामाथि भेदभाव गरेको आरोपमा चीनलाई प्रश्न

हिमाल प्रेस २ जेठ २०८० २१:०६
8
SHARES
तिब्बती महिलामाथि भेदभाव गरेको आरोपमा चीनलाई प्रश्न

ल्हसा- तिब्बती महिलाहरूको अवस्थालाई लिएर चिन्तित महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सीईडीएडब्ल्यु)ले चीनलाई प्रश्न गरेको छ।

सीईडिएडब्ल्यु महासन्धिका प्रावधान कार्यान्वयनको जिम्मेवारीमा रहेको उक्त समितिले न्युयोर्कमा सम्पन्न बैठकमा तिब्बती महिलाका अधिकार तथा हितबारे चासो व्यक्त गरेको तिब्बत अधिकार समूह तिब्बत राइट्स कलेक्टिभले जनाएको छ।

तिब्बतमा बस्ने महिलाको लैंगिक समानता, स्वास्थ्य सेवा तथा शैक्षिक पहुँच, राजनीतिक संलग्नता, धार्मिक एवम् सांस्कृतिक अधिकार संरक्षणलगायत विषयमा चीन सरकारसँग जवाफ मागेको छ।

गत साता भएको उक्त बैठकमा महिला हकअधिकार संरक्षणसम्बन्धी तिब्बत ब्युरो र तिब्बती महिला संघले तिब्बतमा महिलाले झेल्नुपरेका समस्याबारे जानकारी दिएका थिए। बैठकमा ती संस्थाका प्रतिनिधिले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी अन्तरराष्ट्रिय महासन्धिको कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए।

मानवअधिकार समूहले उठाएका विषयमा चीन सरकारका तर्फबाट समितिलाई जवाफ दिँदै सीईडीएडब्ल्युका प्रतिनिधिले लैंगिक समानता सुनिश्चित गर्न, तिब्बती महिलाको अवस्थामा सुधार ल्याउन, महिला अधिकार सुदृढ तुल्याउन तथा उनीहरूलाई थप अधिकार दिने प्रयास भइरहेको बताएका थिए।

तिब्बत राइट्स कलेक्टिभले तिब्बती महिलाका समस्या समाधानमा गम्भीर हुन चीन सरकारलाई आह्वान गर्दै उनीहरूका सीमित आर्थिक विकल्पका साथै सांस्कृतिक एकीककरण, समानताको सुनिश्चिततातर्फ ध्यानाकर्षण गराएको छ।

चिनियाँ प्रतिनिधिले तिब्बती महिलाको शिक्षा, स्वास्थ्य सेवा, गरिबी निवारण र रोजगारीका अवसर प्रदान गर्नाका साथै भेदभाव रोक्न सरकार प्रतिबद्ध रहेको बताएका थिए। मानवअधिकार संरक्षण तथा भेदभावविरुद्ध चिनियाँ सरकार गम्भीर नबनेको आरोपका कारण बेलाबेलामा विश्वमञ्चमा तिब्बत चर्चामा आउने गरेको छ। रासस/एएनआई

प्रकाशित: २ जेठ २०८० २१:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast