काठमाडौँ- पाठ्यक्रम विकास केन्द्रले दुईवटा पब्लिकेसनका केही पाठ्यपुस्तक प्रयोगमा ल्याउन प्रतिबन्ध गरेको छ।ओएसीस प्रब्लिकेसन प्रालि र आठराई पब्लिकेसन्स प्रालि काठमाडौँले पुरानै पाठ्यक्रममा आधारित भएर पुस्तक प्रकाशन गरेकाले प्रयोगमा नल्याउन सम्बन्धित सबैलाई केन्द्रले सूचित गरेको हो।
केन्द्रले यी प्रकाशन गृहलाई स्वीकृत पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका, २०७९ को दफा ३० को उपदफा (२) बमोजिम रद्द गरी दुई वर्षसम्म स्वीकृति नदिने गरी प्रतिबन्ध लगाएको छ।दुवै प्रकाशन गृहले केन्द्रमा नयाँ पाठ्यक्रम अनुसार नै पाठ्यसामग्री स्वीकृत गराए पनि पुराना पुस्तक बजारमा विक्रि वितरण गरेकाले प्रतिबन्ध लगाउनु परेको सूचनामा उल्लेख छ।
ओएसिस पब्लिकेसन प्रालि काठमाडौँले प्रकाशन गरेको कक्षा ४, ६, र ७ को वन्डर इङ्लिस र इङ्लिस स्किल प्रकाशन स्वीकृति प्राप्त विषय र कक्षा ५ को स्वीकृत प्राप्त नगरेको वन्डर इङ्लिस विषय प्रयोग नगर्न सूचित गरेको छ। आठराई पब्लिकेसनले प्रकाशन गरेको कक्षा ५ को रसिलो नेपाली विषय पनि प्रयोग नगर्न केन्द्रले सूचित गरेको छ।