![पाकिस्तानमा सार्क क्षेत्रका केन्द्रीय बैंकहरूको बैठक सम्पन्न](https://himalpress.com/wp-content/uploads/2023/05/Saarc.jpg)
काठमाडौँ- पाकिस्तानको इस्लामावादमा सार्क क्षेत्रका केन्द्रीय बैंकहरूको बैठक सम्पन्न भएको छ। वैशाख १९ र २० गते सम्पन्न बैठकमा नेपालका तर्फबाट राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेतृत्वको टोली सहभागी थियो।
बैठकमा गभर्नर अधिकारीले विश्व अर्थव्यवस्थामा उत्पन्न असहजताका बीच नेपालले समग्र आर्थिक स्थायित्व कायम गर्न सकेको बताए। बैठकमा माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका केन्द्रीय बैंकका प्रतिनिधिहरूको सहभागिता थियो।
उनीहरूले कोभिड संकटका साथै रुस युक्रेन युद्धबाट सिर्जित भू–राजनीतिक तनावका कारण मूल्य र बाह्य क्षेत्रमा देखिएका चुनौती तथा त्यसका समाधानका लागि अवलम्बन गरिएका उपायबारे छलफल गरेका थिए।
साथै आगामी आर्थिक परिदृश्यबारे पनि बैठकमा छलफल गरिएको थियो। स्टेट बैंक अफ पाकिस्तानका निर्देशक डा. फारूक आर्बीले ‘द युज अफ अनकन्भेन्सनल पोलिसी इन्स्ट्रुमेन्ट बाइ साउथ एसिएन सेन्ट्रल बैंक्स’ विषयमा प्रस्तुति गरेका थिए।