काठमाडौँ- अर्घाखाँचीबाट बिहीबार काठमाडौँ हिँडेका एमाले सचिव सम्पर्कविहीन भएका छन्। नक्कली शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि उनी सम्पर्कविहीन भएका हुन्।
उक्त खबर सार्वजनिक भएपछि एमाले सचिव तथा सांसद रायमाझीले उक्त प्रकरणमा आफ्नो संलग्नता नरहेको तथा प्रहरीलाई सघाउने वचन दिएका थिए। त्यसपछि काठमाडौँ हिँडेका उनी सम्पर्कविहीन भएको प्रहरी स्रोतले जनाएको छ। बिहीबार बिहानैदेखि मोबाइल अफ छ।
प्रहरीले उनलाई फरारको सूचीमा राख्यो भने उनको सांसद पद निलम्बन प्रक्रिया अघि बढ्नेछ। तर यसका लागि प्रहरीले फरार रहेको पत्र सभामुखलाई दिनुपर्नेछ। एमालेका अर्का सांसद लक्ष्मी महतो कोइरी निलम्बन भएका छन्। उनलाई पनि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। तर प्रहरीले उनलाई पक्राउ गरेन। प्रहरीले फरार सूचीमा राखेपछि उनी पनि निलम्बनमा परेका छन्।
उक्त प्रकरणमा रायमाझीका छोरा सन्दीपलाई बुधबार साँझ प्रहरीले बुटवलबाट नियन्त्रणमा लिएको छ। ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग सन्दीपको संलग्न रहेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ। सन्दीपलाई काठमाडौँ जिल्ला अदालतबाट तीन दिन म्याद थप गरी हिरासतमा राखिएको छ।
नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्। उनलाई काठमाडौँ प्रहरी परिसरले बुधबार पक्राउ गरेको थियो। पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ।
पाण्डे २०७८ साल साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिव थिए। यसअघि मंगलबार पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए।
यसैगरी केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेल सोही प्रकरणमा पक्राउ परिसकेका छन्। उनीहरूकै बयानका आधारमा राई र पाण्डे प्रक्राउ गरिएको एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन्। प्रहरीले पक्राउ परेका सबैविरुद्ध प्रहरीले संगठित अपराधमा मुद्दा चलाउन अनुसन्धान जारी रहेको जनाएको छ। इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।
नक्कली शरणार्थी प्रकरण : प्रचण्ड-ओली भेटपछि गृहमन्त्री सशंकित
नक्कली शरणार्थी प्रकरण : कसैलाई पनि उन्मुक्ति नदिइने प्रधानमन्त्रीको प्रतिबद्धता