त्रिलोचन भट्ट सुदूरपश्चिम प्रदेशका पहिलो मुख्यमन्त्री हुन्। विपन्न आर्थिक अवस्था भएको परिवारमा जन्मेका त्रिलोचनले गरिबीकै कारण ८ कक्षाको अध्ययन छोडेर १४ वर्षको उमेरमा कामको खोजीमा भारत गएका थिए। लामो समयमम्म मुम्बईको एक कम्पनीमा चौकीदार भएका भट्ट २०४७ सालमा अखिल भारत नेपाली एकता समाजको सदस्यबाट राजनीतिक गतिविधिमा सक्रिय भएका हुन्। माओवादी युद्धका बेला उनले प्रवासबाट विभिन्न व्यवस्थापकीय पक्षमा काम गरेका थिए।
२०६४ सालको संविधानसभा निर्वाचनमा डोटी क्षेत्र नं १ बाट चुनाव लडेका भट्ट २०७० सालमा विधानसभा निर्वाचनमा डोटी क्षेत्र नं २ बाट चुनाव लडेका थिए। दुवै निर्वाचमा पराजित भएका भट्ट २०७१ मा माओवादी केन्द्रका डोटी अध्यक्ष र पछि पोलिटब्युरो सदस्य बनेका थिए।
२०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा डोटी प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ बाट कांग्रेसका योगेन्द्र शाहीलाई हराएका उनी मुख्यमन्त्री भएका हुन्। २०७९ को चुनावमा प्रतिनिधिसभा सदस्य आकांक्षी भट्टले अन्त्यमा प्रदेशसभाको पनि टिकट पाएनन्। पाँचबर्से कार्यकाल पूरा गरेर भट्ट तीन महिनाअघि अवकाश भएका हुन्। उनै भट्टसँग मुख्यमन्त्री हुँदाको अनुभव, समसामयिक राजनीति र भविष्यका योजनाबारे हिमाल प्रेसका पदमराज भट्टले गरेको कुराकानीको सम्पादित अंश :
सरकारमा रहँदा निक्कै व्यस्त हुनुहुन्थ्यो, अचेल के गरेर दिन बित्दैछ?
पाँच वर्ष सरकारमा व्यस्त भएँ। सरकारबाट बाहिरिएको तीन महिनाजति भयो। अब विगतमा थालेका काम कुनकुन जिल्लामा केकसरी भइरहेका छन् हेर्ने र जनताबीच गएर समीक्षा गर्ने काममा लागिरहेको छु। जिल्लामा गएर जनतासँग छलफल गर्ने, बाँकी काम केके छन् रायसुझाव लिने र त्यस आधारमा संघीय सरकार र प्रदेश सरकारसम्म
छलफल गर्न सक्रिय छु। साथै पार्टीले दिएको जिम्मेवारी पूरा गर्दैछु।
पहिलो मुख्यमन्त्रीको कार्यकाललाई कसरी मूल्यांकन गर्नुभएको छ?
मलाई सुदूरपश्चिमको पहिलो मुख्यमन्त्रीका साथै नेपालको इतिहासमा संघीयताको जग बसाल्ने जिम्मेवारी प्राप्त भएको थियो। मैले त्यो काम गरिरहँदा केही समस्या पनि आए। जनताका असीमित अपेक्षा हुन्छन्। तिनलाई पूरा गर्न त्यति सजिलो छैन। मैले कति गर्न सकेँ कति सकिनँ त्यो त समीक्षा हुँदै जाला। हामीले कानुनी प्रक्रियासँगै विकासको जग बसाल्ने काम गरेका छौँ।
सुदूरपश्चिमको भौतिक विकासमा पनि महत्त्वपूर्ण कामको थालनी गरेका छौँ। स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि, शिक्षालगायतका क्षेत्रमा आधार निर्माण भएका छन्। त्यसको परिणाम आउने आउन थालेको छ। अबको सरकार त्यसमै टेकेर अगाडि बढ्यो भने सहज हुन्छ।
मुख्यमन्त्री हुँदा आफूले गरेका राम्रा कामको सूची केही छन् कि?
पाँचबर्से कार्यकालमा भएका कार्यको मैले एउटा पुस्तिका प्रकाशन गरेको छु। त्यसमा प्राथमिकता कहाँ थियो र हामी कुन प्राथमिकतामा अगाडि बढ्यौँ र परिणाम के प्राप्त भयो भन्ने उल्लेख छ। मेरो कार्यकालमा स्वास्थ्य क्षेत्रमा धेरै काम भएका छन्। सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र जिल्ला अस्पतालको स्तरीकरणमा धेरै काम गरेका छौँ। डोटीमा निर्माण भइरहेको प्रादेशिक संक्रामक अस्पताल पनि मेरै कार्यकालमा सुरु भएको हो। अस्पतालहरूमा स्वास्थ्य उपकरण खरिद प्रक्रिया व्यवस्थित हुन थालेको छ। जनशक्ति व्यवस्थापनमा पनि ध्यान दिएका छौँ। दार्चुला र बाजुराका दुर्गम अस्पतालमा चिकित्सक पुग्न थालेका छन्।
भनसुन र पहुँचका आधारमा काम गर्ने परिपाटी बन्द गर्न सकिएन। नेपालको प्रशासनयन्त्र परिणाममुखी छैन। विधिका कुरामा मात्रै अल्झिएको छ। राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीच समन्वय पनि छैन।
गाउँदेखि सहर जोड्ने, सहरलाई गाउँसँग जोड्ने र गाउँको उत्पादन सहरसम्म पुर्याउने सडकको आवश्यकता भएको हुनाले लगभग ६ सय किलोमिटरको हाराहारीमा नयाँ सडकको ट्रयाक खोल्ने काम भएको छ। कतिपय सडक ग्राभेल गर्ने र कालो पत्रे भएको छ। मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रम सञ्चालनमा छन्। प्रदेशले छात्रवृत्ति दिएर चिकित्सक शिक्षा पढाउन थालेको छ। प्राविधिक क्षेत्रमा जनशक्ति तयार गर्ने काम भएका छन्।
गर्न चाहेर पनि गर्न नसकेको काम पनि होलान् नि?
मैले पटकपटक सार्वजनिक भन्दै आएको कुरा के हो भने नेपालमा राजनीतिक परिवर्तन भयो। संविधान निर्माण भयो। तर राजनीतिक परिवर्तनले मात्रै नेपाली जनताको आवश्यकता परिपूर्ति हुन सकेको छैन। प्रशासनिक क्षेत्रमा रूपान्तरण नभएका कारण मुख्यमन्त्रीको कुर्सीमा बसेर काम गर्दा समस्या भोग्नुपरेको छ। जनतालाई छिटोछरितो सहज सेवा दिन नसक्नु, राजनीतिक प्रतिबद्धता पूरा गर्न नसक्नु, जनताका भावनाअनुरूप विकास निर्माणमा गति ल्याउन नसक्नु जस्ता समस्या छन्।
भनसुन र पहुँचका आधारमा काम गर्ने परिपाटी बन्द गर्न सकिएन। नेपालको प्रशासनयन्त्र परिणाममुखी छैन। विधिका कुरामा मात्रै अल्झिएको छ। राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीच समन्वय पनि छैन। मुख्यमन्त्रीमा नियुक्त हुनुअघि म तीव्र गतिमा विकास चाहन्थेँ। खानेपानीको योजना एकदेखि दुई वर्षमै सम्पन्न हुनुपर्छ। शिक्षासँगै स्वास्थ्यमा सोही कुरा लागू हुनुपर्छ भन्ने लक्ष्य थियो। सोहीअनुसार सुरु पनि भयो। तर गति लिन सकेन।
सेती प्रादेशिक अस्पतालमा दुई वर्षअगाडि एमआरआई मेसिनका लागि बजेट छुट्टइएका थियौँ। तर अझै मेसिन पुगेको छैन। अर्को कुरा प्रदेशमा संविधानतः अधिकार हस्तान्तरण हुन सकेको छैन। प्रहरी समायोजन, कर्मचारी समायोजन र साझा कानुन समयमै नबनाइदिँदा समस्या छ।
निजामती ऐनको विषय विवादित छ। प्रदेशले निजामती ऐन बनाएर लागू गर्न सकेको छैन। संघीय सरकारले समयमा ऐन नल्याउँदा समस्या भयो। अहिले जसरी ऐन ल्याउन खोजिएको छ प्रदेशमा समायोजन भएर आएका कर्मचारीले त्यति मन पराएका छैनन्। कर्मचारीको वृत्ति विकासमा पनि अवरोध छ। यस्तो समस्याका कारण कर्मचारीतन्त्रलाई समयमा परिचालन नगरिँदा काम गर्न सकिएन। अर्को कुरा, संविधानमा तीनवटै सरकारलाई समन्वय गर्ने, सहअस्तित्व स्वीकार गर्ने र सहकार्य गर्ने भन्ने व्यवस्था छ।
तर व्यवहारमा त्यस्तो हुन सकेको छैन। राजनीतिक खिचातानी बढी छ। पूर्वाग्राहबाट स्थानीय तहले प्रदेशलाई दोष दिने, प्रदेशले संघलाई दोष दिने, संघले प्रदेश र स्थानीय तहलाई दोष दिने प्रवृत्ति छ। सबै ठाउँमा अलग-अलग पार्टीको सरकार भएको अवस्थामा त्यस्तो हुँदो रहेछ।
केन्द्रले अधिकार नदिँदा समास्या हुने त भयो। अर्कोतर्फ प्रत्येक विषयमा केन्द्रको हस्तक्षेप छ। प्रदेशमा समयमा सरकारले पूर्णता पाउन नसक्दा केन्द्रकै नेतृत्वको मुख ताकिरहनुपर्ने अवस्था छ। केन्द्रमा सरकार परिवर्तन हुँदा त्यसको प्रभाव प्रदेशमा पनि पर्नाले समस्या थपिएका छन्।
संघीयता नेपाली जनताले ठूलो संघर्षबाट प्राप्त गरेका हुन्। नेपालको समग्र विकास संघीयताबाट नै सम्भव छ। तर जुन प्रशासनिक वा राजनीतिक, सोच र चिन्तनबाट हुने हस्तक्षेप अन्त्य हुनु जरुरी छ। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रदेशमा पनि परिवर्तन हुनुपर्छ भन्ने जरुरी छैन। केन्द्रमा एक पार्टी, प्रदेशमा अर्को पार्टीको सरकार चल्न सक्छ।
संघीयता सफल बनाउन केन्द्रमा गठबन्धन भयो भने प्रदेशमा पनि त्यही गठबन्धन हुनुपर्छ भन्ने छैन। नेपालको राजनीति अहिले धेरै विचारमा केन्द्रित छैन, जहाँ जसरी पनि गठबन्धन गर्ने परिस्थिति छ। राम्रो मान्छे, राम्रो पार्टी राम्रो नेतृत्वलाई आमनागरिकले हेरिरहेका छन्। पछिल्लो अवस्थामा कहीँ न कहीँ हस्तक्षेप बढेको देखिन्छ।
मुख्यमन्त्रीबाट राजनीतिक उचाइतर्फ जानुपर्नेमा तपाईं त हराउन खोज्नुभयो नि?
आमनागरिकमा पनि यो चासोको विषय छ। तर म हराएको छैन। पाँच वर्षसम्म नियमित काम गरिसकेपछि आफैँ हराउन खोजे पनि सम्भव छैन। के सत्य भने विवादरहित रूपमा कार्यकाल पूरा गरिसकेपछि ती व्यक्तिलाई जुन प्रकारको प्रोत्साहन हुनुपर्ने हो त्यो संस्कार नेपाली राजनीतिमा देखिँदैन। इमानदारीपूर्वक काम गर्ने व्यक्तिहरू कहिलेकाहीँ गुमनाम हुनुपर्ने स्थिति आउँछ। मेरो पार्टीले किन त्यस्तो गर्यो त्यसको जवाफ त नेतृत्वसँगै होला। आमनागरिकबीच म गुमनाम छैन। हुँदा पनि हुन्न। विकासका काममा, गलत कुराको विरोधमा तथा निरन्तर संघर्ष गर्ने कुरामा म अगाडि रहन्छु।
पार्टीको माथिल्लो तहबाट जिम्मेवारी आएमा पूरा गर्न सक्नुहुन्छ त?
म पार्टीले दिएको हरेक जिम्मेवारी पूरा गर्दै आएको व्यक्ति हुँ। पार्टीमा लागेदेखि अनुशासित ढंगबाट जिम्मवारीपूर्ण तरिकाले पूरा गर्दै आएको छु। नेतृत्वले ममाथि विश्वास गरेर नै मलाई पाँच वर्षको जिम्मेवारी दिएको थियो। पछिल्लो चरणमा किन यस्तो भयो भन्ने कुरा समीक्षाको विषय होला। त्यसको जवाफ कहीँ न कहीँबाट आउला। पार्टीले दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक वहन सक्ने क्षमता म राख्छु।
म मुख्यमन्त्री बन्दा धेरै मान्छे अचम्मित भएका थिए। अचानक यो मान्छे कसरी आयो? यसले सक्छ कि सक्दैन? यो कुनै अमुक नेताले बनाइदिएको र इसारामा चल्ने व्यक्ति हैन? भनेर भनेर अनेक खालका टीकाटिप्पणी भए। मिडियाका केही साथीहरूले त मेरो खिल्लीसमेत उडाएका थिए।
अहिले म उहाँहरूलाई धन्यवाद दिन चाहन्छु। विरोध र आलोचनाले नै मलाई पाँच वर्ष कार्यकाल पूरा गर्न सजिलो भयो। सकुशल जिम्मेवारी पूरा गरेँ। अबका दिनमा पनि पार्टीले दिएको जुनसुकै जिम्मेवारी पनि बहन गर्न सक्ने क्षमता म राख्छु।
नेतृत्वबाट केही आश्वासन पाउनुभएको छ कि?
मेरो राजनीति गर्ने तरिका फरक छ। म तपाईंलाई सानो उदाहरण दिन्छु, पार्टीको केन्द्रले मुख्यमन्त्रीको विषयमा निर्णय गरेका दिन म आफ्नो घर डोटीको गाउँमा थिएँ।
धेरै मान्छेहरू नेताका अघिपछि चक्कर मारिरहेका थिए। मलाई नेतृत्वबाट खबर आयो। तपाईंलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनाउने भनेर निर्णय भएको छ। तपाईं कैलाली आएर आफ्नो तयारी गर्नुहोस्। त्यसपछि म धनगढी आएको हुँ। अहिले पनि हामी देखिरहेका छौँ प्रदेशका कोही सांसद प्रदेशमा भेटिँदैनन्। संघतिर चक्कर काटिरहेका छन्।
म चाकरीचाप्लुसीमा विश्वास गर्दिनँ। कसैले आश्वासन दिएका कारणले मलाई यस्तो चिज प्राप्त हुन्छ र सोही आधारमा अगाडि बढ्छु भन्ने मलाई लाग्दैन। म आफ्नो काममा विश्वास गर्छु। नेतृत्व तथा पार्टीले दिएको जिम्मेवारीमा विश्वास गर्छु।
मैलै कसैसँग आश्वासन लिने कुरा, मलाई यो भएपछि मात्रै काम गर्छु भन्ने कुरा विगतमा पनि गरेको छैन र अब पनि भन्दिनँ। यसकारण मलाई कुनै आश्वासन दिइएको छैन। मैले त्यो लिनुपर्ने कारण पनि छैन।
पार्टीमा इमानदारीपूर्वक काम गरिरहेको छु। जनताबीच पनि स्वार्थरहित सेवामा हाजिर भएको छु। पार्टीले आगामी दिनमा यसको मूल्यांकन गर्छ भन्नेमा विश्वस्त छु। मैले कुनै महत्त्वपूर्ण जिम्मेवारी नपाउँदा आमनागरिकको सहानुभूति बढेको छ। यसबाट राजनीतिक रूपमा मलाई फाइदा भएको छ।
तपाईं मुख्यमन्त्री पदमा रहँदा हटाउने प्रयास पनि भए। अनि निर्वाचनमा टिकट खोसिएको विषयलाई कसरी लिनुभएको छ?
मुख्यमन्त्री भएको ५/६ महिनाबाट मलाई हटाउने प्रयास भएको थियो। त्यसमा त्यति बेलाका माओवादीकै नेताहरू सक्रिय भएका थिए। एमाले र हामी संयुक्त रूपमा निर्वाचनमा गयौँ। मलाई दुवै पार्टीले मुख्यमन्त्री बनाए।
पार्टी एकता भयो। मलाई सहयोग भयो। तर माओवादीभित्र केही नेता तथा साथीहरूले सुरुदेखि नै मलाई हटाउने प्रयास गर्नुभयो। त्यो प्रयास चुनावको मिति घोषणापछि पनि जारी रह्यो।
उहाँहरूले किन त्यसो गर्नुभयो त्यो मलाई थाहा छैन। विधिवत् रूपबाट पार्टीका एजेन्डा कार्यान्वयन गर्नुपर्छ भन्ने कुरा छँदै थियो। तर व्यक्तिविशेषका काम र व्यक्तिविशेषलाई खुसी बनाउने काम मैले गरिनँ। केही नेताहरूलाई त्यो चित्त बुझेको रहेनछ।
मेरो मान्यता के थियो भने सत्ताको दुरुपयोग गरेर कुनै व्यक्तिविशेषलाई खुसी पार्न भन्दा पनि आमनागरिकको काम गर्नुपर्छ। त्यो मान्यता मैले पाँच वर्ष कायम राखेँ। त्यसबाट चिढिएर माओवादीभित्रकै नेता तथा साथीहरूबाट मलाई हटाउने प्रयास भयो। तर कोही सफल भएनन्। अधिकांशले मलाई सहयोग नै गरे।
पार्टीको नेतृत्वबाट स्पष्ट रूपमा सहयोग पाएको थिएँ। सोही कारण म सफल भएको हुँ। नेकपा हुँदा भीम रावलको टिमले पनि राम्रो सहयोग गरेको थियो। सबैलाई ब्यालेन्स मिलाएर सबैको असतित्वसहित साझा रूपबाट काम गर्नुपर्छ भन्ने मेरो ‘भिजन’ थियो र सबैबाट सहयोग भयो। अन्तिम वर्ष त चार वर्ष विपक्षमा बसेको नेपाली कांग्रेसका नेताहरूले पनि सहयोग गर्नुभयो।
जहाँसम्म निर्वाचनमा टिकट खोसिएको भन्ने विषय छ, मेरो प्राथमिकता प्रतिनिधिसभामा जाने थियो। मेलै पाँच वर्ष प्रदेशमा काम गरेँ, जे अनुभव गरेँ, जे भोगेँ त्यसलाई सशक्त रूपबाट संघीय सदनमा उठाउनुपर्छ र संघीयता सफल बनाउन भूमिका निर्वाह गर्नुपर्छ भन्ने सोचाइ थियो।
गठबन्धनको राजनीतिले त्यो सम्भव हुन सकेन। डोटी जिल्ला हाम्रो भागमा परेन। त्यसपछि नेतृत्वबाट प्रदेशमा चुनाव लड्न प्रस्ताव आयो। तर पछि टिकट किन रोकियो यसबारे हालसम्म अनभिज्ञ छु। टिकट नदिनुको कारणबारे मैले केही थाहा पाएको छैन भने नेतृत्वले पनि जवाफ दिएको छैन। टिकट नपाउँदैमा मैले आफ्नो जिम्मेवारी पूरा गर्न छाडिनँ। पार्टीलाई जिताउने काममा लागेँ र पार्टीले जित्यो पनि।
तपाईंको निकै तल्लो तहबाट राजनीतिमा संलग्न भई प्रदेशको मुख्यमन्त्रीसम्म बन्न सफल हुनुभयो। सामान्य नेपाली जनताको तहबाट हेर्दा नेपालको राजनीतिक अवस्था कस्तो पाउनुभयो?
म जुन धरातलबाट आएको हुँ, त्यहाँबाट आएर मुख्यमन्त्री बन्नु धेरै ठूलो विषय हो। खानदानी राजनीति गर्ने व्यक्तिहरू, पैसा भएकाहरू, पहुँचमा भएको व्यक्तिहरू मात्रै माथि पुग्छन् भन्ने सोचाइ थियो। त्यो अहिलेसम्म पनि छ।
मैले पार्टीमा लागेको दिनदेखि इमानदारीपूर्वक काम गरेँ। उतारचढावको राजनीति कहीँले गरिनँ। पाँच वर्ष मुख्यमन्त्री भएको मान्छे कतै चर्चामा छैन भनेर मेरा बारेमा छलफल भएको पाउँछु। यो मेरो आफ्नै गति हो। सोहीअनुसार निरन्तर अगाडि बढिरहन्छु।
राजनीतिमा गर्ने मान्छे किन बिग्रिन्छ त? आज ठूला पार्टी ठूला नेता संघर्ष गरेका व्यक्तिप्रति किन प्रश्न उठिरहेका छ त? यसको पछाडिको कारण मैले के देखेँ भने राजनीति गर्ने मान्छेले धेरै ठूला सपना देख्दो रहेछ। म आज यो बनौँला। भोलि मन्त्री बनौँला, भोलि अर्को बनौँला र पैसा कमाउँला।
त्यस्ता सोचाइ भएका राजनीति गर्ने मान्छेले अनेक षड्यन्त्र गर्दा रहेछन्। उनीहरूले पार्टीभित्र जालझेल, षड्यन्त्र र नेताहरूकै वरिपरि रही नेताहरूलाई प्रभावित पार्दा रहेछन्। राजनीतिमा आफू सफल हुनु जे पनि गर्नुपर्छ भन्ने गलत मान्यता छ। त्यसो गरेर गइसकेपछि मान्छे स्वार्थी बन्छ। पदमा गइसकेपछि स्वच्छ रूपमा फिर्ता हुन गाह्रो हुन्छ।
तर म यो भन्दा फरक तरिकाले प्रस्तुत भएँ। शपथ ग्रहण गरिसकेपछि कैयौँ ठाउँमा विभिन्न व्यक्तिहरूसँग भेट हुँदा के सल्लाह पाएँ भने ‘तपाईं एकदम कमजोर स्थितिबाट यहाँ पुग्नुभएको छ। जुन पदमा आउनुभएको छ इमानदार तरिकाले काम गरेर फकिर्नुभयो भने स्थापित हुनुहुने। तपाईं पनि पदमा पुगेर अरू जस्तै बदनाम हुनुभयो भने राजनीतिप्रति नै विश्वास रहँदैन।’ म त्यो कुरालाई कायम राख्न सफल भएँ। त्यो ठाउँबाट यो ठाउँ पनि संघर्ष पनि धेरै गर्नुपर्यो।
मैले व्यक्तिगत रूपबाट दुई पटक चुनाव हारेँ। आर्थिक रूपले त्यति राम्रो स्थिति पनि होइन। इमानदार भएर जनताबीचमा निरन्तर रही काम गर्दै जाँदा सफलता हासिल हुन्छ।
राजनीतिमा पद पाउन नेताको वरिपरि मन्दिरमा जसरी चक्कर लगाउने प्रवृत्ति मौलाएको छ। त्यसबाट जनतामा असन्तुष्टि छ। यस्ता प्रवृत्तिको प्रतिवाद गर्दै पार्टीमा सशक्त रूपमा प्रस्तुत हुने योजना छ।
मप्रति बढी आशा पनि थियो। गरिब तथा समस्या भएको व्यक्तिका लागि काम गर्छ भन्ने थियो। त्यसैले कहीँलेकाहीँ मप्रति बढी आलोचना पनि हुन्थ्यो।
धेरै संघर्ष गरेर यो ठाउँमा पुगेकाले म देशभरिको एउटा उदाहरणका हुन सक्छु। भारतमा नोकरी गर्न गएको मान्छे हुँ म। भारतमा रहँदा नै माओवादी केन्द्रसँग सम्बन्धित रही काम गर्दै आएँ। मैले धेरै दुःखसँगै अपठ्यारो परिस्थिति सहेको छु। तर निरन्तरता, इमानदारी र दृढ विश्वास भयो भने सफल हुन सकिन्छ।
अबको योजना के छ त?
पछिल्लो राजनीतिक परिस्थितिबाट आमजनतामा वितृष्णा पैदा भएको छ। यसका २/३ वटा फ्याक्टर छन्। एउटा कुरा हामीले चुनावमा जनतालाई देखाएका तथा दिएका आश्वासन सत्तामा गइसकेपछि पूरा गर्न नसक्ने र नचाहने देखिएको छ।
हाम्रो प्रशासनिक र सिस्टमा कहीँ न कहीँ गडबढी छ त्यसलाई सुधार गर्न जरुरी छ। मैले प्रदेश बसेर केही त गरेँ तर सबै चाहेर पनि नहुँदो रहेछ।
प्रदेशमा आउने सचिव भनेको नेपाल सरकारको हो। मैले नयाँ सोचअनुसार सचिव राखेर काम गर्न सकेको होइन। हिजोको सोच भएको मान्छेलाई नै काम गराइएको हो। त्यसैले यो चिजमा बहस गर्न जरुरी छ। अर्को नागरिकलाई सहज रूपमा दिनुपर्ने सेवा छ, नागरिकले धेरै चिज चाहेका छैनन्।
अस्पतालमा सहज रूपमा सेवा पाइयोस्, प्रहरीबाट सहज रूपबाट सेवा पाइयोस्, न्यायालयबाट सहज रूपमा न्याय पाइयोस् र नेताहरूले गरेका बाचाव्यवहारमा कार्यान्वयन होऊन्, जनताको चाहना यो नै हो।
यी चाहना पूरा गर्न नेताहरूले सत्तामोह त्याग्न जरुरी छ। त्याग भनेको सहिद हुनुपर्ने, हातखुट्टा नै भाँच्नुपर्ने जरुरी छैन। निजी स्वार्थबाट माथि उठ्नुपर्छ। यसका लागि एउटा बहस गर्नु पर्नेजस्तो मलाई लाग्छ।
पार्टी सुदूरपश्चिम प्रदेशमा अपठ्यारो र जटिल स्थितिमा छ। अब पार्टीमा काम गरेर पार्टीलाई व्यवस्थित रूपमा अगाडि बढाउने कुरा मुख्य हो। सँगसँगै मैले सुरुवात गरेका कामहरू, पञ्चवर्षीय योजना, आर्थिक विकासका योजना निरन्तर कार्यान्वयनमा जाऊन् र सरकारले रायसुझाव मागेमा सहयोग गर्ने कुरामा रहन्छ। हामीले ल्याएको बजेट पनि त्यति राम्रो तरिकाले कार्यान्वयन गर्ने काम कम भएको महसुस गरेको छु।
कतिपय जिल्लामा रातो किताबमा उल्लेख भएका योजना कार्यान्वयन नभएर कर्मचारीले फिर्ता पठाएको सुन्नमा आएको छ। यसले जनतामा नराम्रो सन्देश जान्छ। संयुक्त सरकार भएकाले सरकारलाई सहज तथा पूर्ण रूपमा सहयोग रहन्छ।
अब प्रशासनिक रूपान्तरण गरी संघीयतालाई व्यवस्थित रूपमा अगाडि बढाउने र विकास निर्माणको मोडेल बनाएर अगाडि बढ्ने कुरामा छलफल हुनुपर्छ। राजनीतिमा पद पाउन नेताको वरिपरि मन्दिरमा जसरी चक्कर लगाउने प्रवृत्ति मौलाएको छ। त्यसबाट जनतामा असन्तुष्टि छ। यस्ता प्रवृत्तिको प्रतिवाद गर्दै पार्टीमा सशक्त रूपमा प्रस्तुत हुने योजना छ।