डढेलोले पाइप जलेपछि विद्यालयमा खानेपानीको अभाव

हिमाल प्रेस ९ वैशाख २०८० २१:२५ | Saturday, April 22, 2023
डढेलोले पाइप जलेपछि विद्यालयमा खानेपानीको अभाव फाइल तस्बिर।

खेटाङ- डढेलोले खानेपानीको पाइप जलेपछि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित रातमाटे आधारभूत विद्यालयमा खानेपानी आपूर्ति बन्द भएको छ। स्थानीय मार्से-सावाला-कुर्ले-सिद्धेबारी सामुदायिक वनमा लागेको डढेलोले रमितेपाखा मुहान भएको खानेपानी आयोजनाको पाइप जलेपछि रातमाटे आधारभूत विद्यालयमा खानेपानी आपूर्ति बन्द भएको हो।

भीरैभीर भएको ठाउँमा जमिनमा गाड्न सम्भव नभएपछि बाहिरै तन्काएर राखिएको करिब पाँच सय मिटर खानेपानीको पाइप डढेलोले जलेको अध्यक्ष राजन राईले बताए। ‘प्यालाभीरबाट मुहानसम्मको खण्डमा पर्ने कतिपय पाइप जलेर टुक्राटुक्रा भएको र कतिपय पाइप पड्केर फुटेको छ,’ उनले भने, ‘विद्यालयका लागि सञ्चालित खानेपानी आयोजनाको पाइप जलेपछि समस्या भएको छ।’

वैशाख ६ गते सुरु भएको डढेलो वन क्षेत्र डढिसकेपछि आफैँ निभेको छ। स्थानीय र प्रहरीले बस्ती नजिक पुगेको डढेलो नियन्त्रण गरेर घर जोगाएका उनले बताए।

साविक दुर्छिम–३ छापडाँडा तेलाभीरमा रहेका खाली घरमध्ये केही डढेलोका कारण जलेका निवर्तमान वडासदस्य फलामसिं राईले बताए। डढेलोले वनस्पति खसाप पारे पनि मानवीय क्षति नभएको स्थानीयले बताएका छन्।

यस्तै डढेलोले जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित कात्तिके सामुदायिक वन सखाप बनाएको छ। वैशाख ६ गते साँझदेखि सुरु भएको भीषण डढेलोले सामुदायिक वन सखाप बनाएको छ।

हावाहुरीका कारण डढेलो नियन्त्रण गर्न नसकिएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नृपबहादुर चौलागाईँले बताए। वन क्षेत्र डढिसकेपछि धेरैजसो डढेलो आफै नियन्त्रणमा आएको हो। दश स्थानीय तह रहेको जिल्लाका अधिकांश सामुदायिक वनमा डढेलो लागेको छ। रासस

प्रकाशित: ९ वैशाख २०८० २१:२५ | Saturday, April 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast