विदेशी भन्ने बित्तिकै राम्रो भन्ने मानसिकता त्याग्नुपर्छ : प्रधानमन्त्री

हिमाल प्रेस ९ वैशाख २०८० १३:१९ | Saturday, April 22, 2023
विदेशी भन्ने बित्तिकै राम्रो भन्ने मानसिकता त्याग्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेश र विदेशी भन्नेबित्तिकै राम्रो र नेपाली नराम्रो भन्ने मानसिकता त्यागेर मात्र राष्ट्रिय अर्थतन्त्रको निर्माण र समृद्ध नेपाल सम्भव हुने बताएका छन्।

शनिबार बिहान गोकर्णमा बाह्रखरी मिडियाले आयोजना गरेको कर्पोरेट गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विदेशका अनुभव, शिक्षा र दृष्टान्तलाई बढी महत्व दिएर नेपाली विशेषता र मौलिकता नभुल्न सहभागीहरूलाई आग्रह गरे।

‘हामीले विश्व पढ्नैपर्छ, विश्वका अनुभव र दृष्टान्तहरू पनि पढ्नुपर्छ। तर त्यसभन्दा बढी नेपालको इतिहास पढ्नुपर्दछ। हाम्रो अर्थराजनीतिक चरित्र, हाम्रो विशेषता र मौलिकता पढ्नुपर्छ।’ उनले भने,‘हामीकहाँ विदेशी भन्नेबित्तिकै राम्रो, नेपाली चाहिँ नराम्रो भन्ने मानसिकता पनि देखिन्छ। यसले राष्ट्रिय अर्थतन्त्र निर्माण, समृद्धि र स्वाधीनतालाई सहयोग गर्दैन।’

उनले भने, ‘अर्थनीति र अर्थतन्त्रबारे विश्वमा आ-आफ्नै मोडेल छन्। नवउदारवाद र समाजवादी अर्थतन्त्रका आ–आफ्नै चरित्र र विशेषता छन्। तर त्यसलाई हुबहु अवलम्बन गरेर हाम्रो अर्थनीति बनाउन सकिँदैन। हाम्रो अर्थराजनीति, उत्पादन पद्धति अरूको भन्दा मौलिक छ।’

प्रचण्डले भने,‘हामी कुन बाटो जाने, त्यो महत्वपूर्ण कुरा हो। यसमा धेरैजसो मान्छेहरू अल्मलिएको देख्छु । हाम्रो संविधानले निजी, साझेदारी र सहकारीको तीनखम्बे अर्थनीति अवलम्बन गरेको छ, यो विश्वका अरू मोडेलसँग हुबहु मिल्दैन।’

प्रकाशित: ९ वैशाख २०८० १३:१९ | Saturday, April 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast