 
                            
                                            पोखरा- कास्की सार्दीखोलाकी शान्ति गुरुङ २०५१ सालमा बिहे भएर घलेल आएकी हुन्। परिवारमा श्रीमान्, दुई छोरा र एक छोरी छन्। छोराछोरी हुर्किसके। सबै नजिकैको सहर पोखरामा पढ्छन्। शान्तिको बिहे हुँदा गाउँमा पानीको दु:ख थियो। यतिसम्म कि शौचालयसमेत थिएन। गाउँमा मोटर नआउँदा हेमजाको मिलनचोकदेखि तीन घण्टासम्म हिँडेरै आउजाउ गरिन्। बिजुली त धेरैपछि आयो।
अहिले परिवेश फेरिएको छ। गाउँमा झललल बिजुली बल्छ। घरैपिच्छेका धारामा कलकल पानी बग्छ। गाउँको बीचैबाट मोटरगाडी गुड्छन्। पुराना संरचना भएका घरमा आधुनिक चुलोदेखि व्यवस्थित शौचालय छन्।
घरको पालीमा इन्टरनेटका राउटर झुन्ड्याइएको छ। घरघरमा डिस होमका छाता छन्। कास्कीको उत्तरी पर्यटकीय गाउँ घलेलमा विकासका आधारभूत सबैखाले सुविधा पुगेको छ।
गाउँमा हेर्दाहेर्दै विकासका सबैखालका पूर्वाधार भित्रिए। गाउँ छोड्नेको लर्को भने रोकिएको छैन। ढुंगाले छाएका गुजुप्प घरका अधिकांश सदस्य गाउँमा बस्दैनन्। गाउँमा बूढाबूढी र केटाकेटी देखिन्छन्। तन्नेरी अन्यत्रै छन्। उनीहरू प्रायः गाउँ फर्किँदैनन्। अधिकांश त स्थायी रूपमा बसाइँ सरिसके।
विगतमा चार सय घरधुरी रहेको घलेलमा अहिले एक चौथाइ घरमा मान्छे बस्छन्। अधिकांश घरका ढोकामा ताला ठोकिएको छ। केही भत्किएका छन्।
माछापुच्छे गाउँपालिका–८ अध्यक्ष राम गुरुङ भन्छन्, ‘पहिले विकास थिएन, अहिले विकास छ तर मान्छे छैनन्। घलेको घनाबस्ती रहेकै कारण गाउँकै नाम घलेल रहे पनि अहिले एक जना पनि घलेल छैनन्।’ गाउँमा केही गुरुङ र दलित बस्तीमात्र छ।
यसको मूल कारण हो, तीव्र बसाइँ सराइ। गाउँका हुनेखानेहरू थप सुविधा खोज्दै नजिकैको सहर बजारमा सर्ने क्रम देशैभरि छ। गण्डकी प्रदेशको राजधानी पोखरामा पनि तीव्र सहरीकरण छ। प्रदेशका अन्य सहरको तुलना पोखरासँग हुन सक्दैन। किनकि यहाँ सबै प्रकारका सेवासुविधा छन्। क्षेत्रफलका हिसाबले नेपालकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा विगत १० वर्षमा जनसंख्या १ लाख १० हजारले बढेको छ।
२०६८ को जनगणनामा यहाँको कुल जनसंख्या ४ लाख २ हजार ९९५ रहेकोमा २०७८ को गणनामा ५ लाख १३ हजार ५०४ पुगेको हो। १० वर्षअघि यहाँ १ लाख ५ हजार ओटा घर रहेकोमा बढेर १ लाख ४० हजार पुगेका छन्।
पोखरामा तीव्र सहरीकरण भए पनि नजिकैको बागलुङ बजारमा जनसंख्या घटेको छ। २०६८ को जनगणनामा बागलुङमा ५७ हजार ८२३ जनसंख्या रहेकोमा पछिल्लो गणनामा भने करिब १७ सय मानिस कम भएका छन्। यसपालि बागलुङ बजारमा ५६ हजार १०२ जनसंख्या रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ। बागलुङमा घरधुरी संख्या ८ सयले बढेको छ।
हिमाली जिल्ला गोरखा सदरमुकाम गोरखामा घरधुरी र जनसंख्या दुवै बढेको छ। तनहुँ सदरमुकाम रहेको दमौलीको व्यास नगरपालिकामा पनि गोरखाकै जस्तो नतिजा छ। स्याङ्जाको वालिङमा भने जनसंख्या घट्दा घरधुरी बढेका छन्।
गण्डकीका पाँच सहरको तथ्यांक केलाउँदा यसको मूल कारण भनेको बसाइँ सराइ हो। विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सबैखाले सुविधा जहाँ छ, त्यहाँ मानिसको आन्तरिक बसाइँ सराइ अत्यधिक छ।

गण्डकीका विभिन्न सहरमध्ये पोखरामा बस्न रुचाउने बढी छन्। छिमेकी स्याङ्जा सदरमुकाम पुतलीबजारको तुलनामा वालिङमा बसाइँ सरी आउने मानिसको आकर्षण बढी छ। पुतलीबजारमा जेजति बस्ती हुनुपर्ने हो, अरु तीव्र गतिमा हुन सक्ने सम्भावना छैन। त्यहाँ विकासका आवश्यक पूर्वाधार पर्याप्त छैनन्।
वैदेशिक रोजगारीमा जानेको संख्या बढेपछि आन्तरिक बसाइँ सराइमा प्रभाव पारेको छ। जहाँ वैदेशिक रोजगार बढी छ त्यहाँका मानिस नजिकैको सहरमा बसाइँ सराइ गरेको पाइन्छ।
अनुसन्धानकर्ता महेन्द्र सुवेदी भन्छन्, ‘वैदेशिक रोजगारमा जानेको संख्या बढेपछि आन्तरिक बसाइँ सराइ प्रभावित भएको छ। परिवारका सदस्य वैदेशिक रोजगारीमा भए उनीहरु नजिकैको सुविधासम्पन्न सहरमा बसाइँ सर्ने गरेका छन्।’
गण्डकी प्रदेश माइग्रेसन प्रोफाइल तयारीमा जुटेका सुवेदीका अनुसार अध्ययनको प्रारम्भिक अध्ययनमा जहाँ दुईतीन जिल्लाको संगम छ, त्यहाँ मानिसको चाप बढी छ। जस्तै– लमजुङको सोतीपसल, दुईपिप्ले लगायत।
प्रोफाइल बनाउन गण्डकी प्रदेश सरकार, अन्तर्राष्ट्रिय आप्रवासी संगठन नेपाल र सयपत्री सोसाइटी नेपाल जुटेका छन्। त्यसको प्रतिवेदन दुई महिनाभित्र सार्वजनिक गर्ने तयारी रहेको सुवेदी बताउँछन्।
गण्डकी प्रदेशअन्तर्गत मनाङ, मुस्ताङ तथा गोरखाको उपल्लो भागमा त्यहाँको मौसमका कारण आन्तरिक बसाइँ सराइ बढेको छ। बागलुङ र म्याग्दी जिल्लाका ठूलो संख्यामा मानिस विदेशमा छन्। त्यसकारण त्यहाँ जनसंख्यामा विगतको तुलनामा कमी छ। गण्डकी प्रदेशमा मध्यपहाडी लोकमार्ग निर्माण जारी छ। जहाँ जहाँ लोकमार्गले छोएको छ, त्यहाँ मानिसको राम्रो बस्ती विकास हुँदै गएको छ।
सेवा प्रवाह र जनताको मागबीच ठूलो खाडल उत्पन्न हुँदा यसको तीव्र असर पर्ने अध्ययनले देखाएको सुवेदी बताउँछन्।


 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 