काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन्।
नयाँ वर्ष-२०८० को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भनेका छन्, ‘संकल्प गरौँ, सिंगो राष्ट्रको साझा संघर्ष र संकल्पबाट यो वर्ष केवल क्यालेन्डर परिवर्तन गर्ने छैनौँ, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछौँ।’
उनले परम्परागत प्रकृतिको विकासको मोडेल र योजना तर्जुमा प्रक्रियामा क्रमभंग गर्न गइरहेको बताउन एउटा सकारात्मक वातावरण बनिरहेको उल्लेख गरेका छन्।
सन्देशमा प्रधामन्त्रीले भनेका छन्, ‘बैंक ब्याजदर कम हुँदै गएको छ, व्यवसायीहरूको बैंक ब्याजसम्बन्धी चिन्तालाई सम्बोधन गर्न सकारात्मक छलफल भइरहेको छ, राजश्व संकलनमा वृद्धि भइरहेको छ, तर हाम्रै पुस्ता र नयाँ पिँढीको गुणस्तरीय भविष्यका लागि हामीले अझै धेरै मेहेनत गर्नुछ।”
उनले सामूहिकताको संस्कृति विकास गर्दै थुप्रै चुनौतीलाई सहमति र सहकार्यबाट परास्त गरेका सफल अनुभव व्यक्त गर्दै नयाँ वर्षलाई पनि सहमति र सहकार्यमार्फत समृद्ध नेपालको आधार निर्माण गर्ने वर्षका रूपमा मनाउन आम जनसमुदायमा विशेष अपिल गरेका छन्।
निर्देशनको तहलाई कार्यान्वयनमा लैजान परम्परागत अवरोधबीच पनि यो बीचमा सकारात्मक सुरुआत भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा देखिएका संकट र चुनौती क्रमशः कम हुँदै गएको दाबी गरेका छन्।
उनले भनेका छन्, ‘मेरा केही ठोस संकल्प छन्, वैदेशिक रोजगार व्यवस्थित हुँदै गएको छ, श्रमिकको अधिकार सुरक्षित गर्न महत्त्वपूर्ण सामाजिक सुरक्षा अभियानमा उनीहरू जोडिएका छन्, नागरिकले प्राप्त गर्ने सेवाहरू झन्झटमुक्त बनाउने अभियान सुरु भएको छ।’
उनले राष्ट्रले आफूलाई दिएको भूमिकाप्रति आभार प्रकट गर्दै प्रधानमन्त्रीका रूपमा समस्त नेपाली जनसमुदायसँग नयाँ वर्षका हरेक दिन र हरेक क्षण संविधानको कार्यान्वय, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘हरेक नयाँ वर्ष एउटा सुरुआत हो, विगतको समीक्षासहित नयाँ संकल्प गर्ने दिन हो, हामीले आत्मसमीक्षा गर्नैपर्छ तर हामीलाई निराश हुने छुट छैन”, शुभकामनामा सन्देशमा भनिएको छ।
उनले २०८० लाई राष्ट्रिय उपलब्धिहरूको ऐतिहासिक वर्ष बनाउने प्रणसहित समस्त नेपाली जनसमुदायको शान्ति, प्रगति र सुस्वास्थ्यको कामना गरेका छन्।