घरघरमा खानेपानीका धारा तर छैन पानी

हिमाल प्रेस ३० चैत २०७९ १०:१५ | Thursday, April 13, 2023
घरघरमा खानेपानीका धारा तर छैन पानी प्रतीकात्मक तस्बिर।

बागलुङ- बागलुङको काठेखोला गाउँपालिका-३, धम्जा देउरालीमा खानेपानीको अभाव भएको छ। धम्जाका अधिकांश गाउँमा ‘एक घर, एक धारा’ निर्माण गरिए पनि देउरालीमा भने खानेपानी अभाव कायमै छ।

भौगोलिक हिसाबले धम्जाकै शिरमा रहेको देउरालीमा खानेपानीका मूल बस्तीभन्दा तल भएका कारण यहाँका २० घरमा वर्षौँदेखि खानेपानीको पहुँच छैन। धम्जा देउरालीका बासिन्दालाई खानेपानीको सुविधा दिन सोलार लिफ्ट खानेपानी आयोजना सञ्चालन गरेर देउराली खर्कको चौरमुनिको मूलबाट खानेपानी ल्याइए पनि उक्त आयोजना एक महिनासमेत टिक्न सकेन।

प्राविधिक त्रुटिका कारण सोलार लिफ्ट खानेपानी आयोजना सञ्चालनको एक महिनामै बिग्रिएपछि पुनः खानेपानीको अभाव भएको स्थानीय प्रेमश्वरी श्रेष्ठले बताए। ‘सोलार लिफ्ट आयोजना सञ्चालनको एक महिनामै बिग्रियो,’ उनले भनिन्। १४ लाखको लागतमा योजना सम्पन्न भएको हो। देउरालीका सबै घरमा खानेपानीका धारा छन्, तर पानी उपलब्ध छैन।

काठेखोला गाउँपालिकाले दुई वर्षअघि देउरालीमा खानेपानीको अभाव टार्न सोलार लिफ्ट खानेपानी आयोजना निर्माण गरेको हो। योजना सञ्चालनमा आउन नसकेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष यमबहादुर रोकाले बताए।

लिफ्ट आयोजना मर्मत गर्न पहल भइरहेको उनको भनाइ छ। अहिले देउरालीमा असौजे र कालठुटेको मूलबाट आएको पानी दुईवटा ट्यांकीमा जम्मा गरेर घरघरमा वितरण भइरहेको छ। बर्खामा खानेपानी पुग्ने भए पनि हिउँदयाममा अभाव नै हुन्छ।

देउरालीमा खानेपानी ल्याउनका लागि बस्तीमुनिको देउरालीखोला मुहानको पानी सोलार लिफ्ट योजनामार्फत झन्डै तीन सय मिटरमाथि तानेर घरघरमा पुर्‍याइएको थियो। रासस

प्रकाशित: ३० चैत २०७९ १०:१५ | Thursday, April 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast