वीरगञ्ज- नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आर्थिक सुरक्षण गर्न सबैले बीमा गुर्नपर्ने बताएका छन्। वीरगञ्जमा आयोजित बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले सरकारले सबै कुराको जिम्मा लिन नसक्ने भएकाले जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्न सबैले बीमा गर्नुपर्ने बताएका हुन्।
प्राधिकरणले वीरगञ्जमा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको हो। सो कार्यक्रममा सिलवालले भने, ‘सबै कुराको जिम्मा सरकारले लिन सक्दैन, सरकारले आफ्नो काम गर्छ। जोखिम लिने काम बीमा कम्पनीको हो, त्यसैले सबैले बीमा गर्नुपर्छ । बीमा गरेपछि बीमा दाबी भुक्तानी अवश्य पाइन्छ।’
मधेश प्रदेशमा करोडौँका सडक, पुल, भवन बनेका पनि बीमा नगरिएको उनले बताए। बीमाको पहुँच बढाउन स्थानीय सरकार अग्रसर हुनुपर्ने उनको भनाइ थियो। वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बीमा कम्पनीहरूले बीमा गर्ने तर दाबी दिने बेलामा विभिन्न बहाना बनाएर हैरान पार्ने गुनासोहरू आउने गरेको बताए।
दाबी भुक्तानी स्थानीयस्तरबाट छिटोछरितो रूपमा हुने नीतिगत व्यवस्था गर्न प्राधिकरणसँग उनले आग्रह गरे। प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा दाबी भुक्तानीलाई छिटोछरितो तुल्याउन बीमा कम्पनीहरूलाई प्राधिकरणले निर्देशन दिएको बताए। नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमासम्बन्धी प्रस्तुति गरे।