काठमाडौँ- एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगाना नभएको बच्चाको जन्मदर्ता मावलीको थरबाट हुने भएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सूचना जारी गरी उक्त व्यवस्था गरिएको जनाएको हो।
त्यस्ता बालबालिकाको जन्मदर्ताका विषयमा थप प्रस्ट पारिदिन स्थानीय तहबाट अनुरोध भएकाले दोहोरो दर्ता नहुने गरी उक्त व्यवस्था गरिएको विभागका महानिर्देशक रुद्र पण्डितले बताए।
‘विवाहअगाडि जन्म भएको तर पितृत्व ठेगान नभएको बच्चा भएको एकल महिलाको विवाह गरी बच्चासहित पतिको ठेगानासँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्मदर्ता गर्न सकिनेछ’, विभागको सूचनामा उल्लेख छ।
विभागले विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चाको मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्मदर्ता गर्न सकिने जनाएको छ।
यी दुई व्यवस्थाअनुसार बच्चाको जन्मदर्ता भइसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा सो जन्मदर्ता नियमानुसार रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्मदर्ता गर्नुपर्नेछ।




