फेवाताल किनारमा फेवा नववर्ष महोत्सव गरिने

हिमाल प्रेस २२ चैत २०७९ १९:५०
10
SHARES
फेवाताल किनारमा फेवा नववर्ष महोत्सव गरिने

पोखरा– होटल संघ पोखरा नेपालको आयोजनामा लेकसाइडमा १८ औं फेवा नववर्ष महोत्सव हुने भएको छ। फेवाताल किनार फिस्टेल गेटदेखि हल्लन चोकसम्मको सडकमा २९ चैतदेखि ३ दिनसम्म सो महोत्सव हुन लागेको बुधबार पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्दै आन्तरिक र वाह्य पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ पर्यटन, संस्कृति र खानालाई जोड दिएर महोत्सव हुन लागेको संघका अध्यक्ष एवम् महोत्सवका संयोजक लक्ष्मण सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिए।

उनका अनुसार उद्घाटनका दिन खहरे चोकबाट सांस्कृतिक झाँकी र र्‍याली सुरु भई अम्मटमा पुगेर उद्घाटन सभामा परिणत हुने छ। लाइभ संगीत, ख्याती प्राप्त कलाकारको गायन प्रस्तुति, सांस्कृतिक झाँकी र खानाका परिकार महोत्सवमा रहने छ।

महोत्सवमा संघअन्तर्गतका होटलहरूले उल्लेखित दररेटमा २० प्रतिशत छुट दिने संघले जनाएको छ। याक ब्रुअरीको बाह्रसिंगे बियर महोत्सवको मुख्य प्रायोजक रहेको छ।

नेपाली नयाँ वर्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत प्रचार प्रसार गरी हर्ष, उल्लासका साथ मनाउँदै गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले संचालन हुने महोत्सवले गण्डकी प्रदेशको जातीय भेषभुषा, रहनसहन, खानपान, सांस्कृतिक पक्षहरूको उजागर र प्राकृतिक सम्पदाहरूको प्रर्वद्धन गर्ने विश्वास संघले लिएको छ।

पोखरामा १ माघमा यती एयरलाइन्सको विमान दुर्घटना र पृथ्वीराजमार्गको अव्यवस्थित तथा सुस्त गतिको स्तरोन्नतिले यस क्षेत्रको पर्यटन आगमनदरमा प्रत्यक्ष मार परेको अध्यक्ष सुवेदीले बताए।

बाटो स्तरोन्नति हुनु राम्रो भए पनि काम सुस्त गतिमा हुँदा असर परेको उनले सुनाए। सडक मार्ग हुँदै मोटरसाइकलमा मुक्तिनाथ पुग्ने पर्यटकको संख्या पनि घट्न पुगेको उनले जानकारी दिए। सहज र सुरक्षित वातावरणमा मात्र पर्यटक घुम्न जाने विषय उनले उल्लेख गरे।

बैंक तथा वित्तीय संस्थाका तर्फबाट एकतर्फी रूपमा बढाइएको ब्याजदरका कारण होटल क्षेत्र अहिले उकुसमुकुसको अवस्थाबाट गुज्रनु परेको संघले जनाएको छ। पर्यटन क्षेत्र समस्यामा परे पनि आफूहरू धैर्यताका साथ आसावादी भएर बसेको अध्यक्ष सुवेदीले सुनाए।

व्यवसायीले कोभिड अघि कमाएको पैसा र केही सुन तथा जग्गाको सहयोगमा विचमा बैंकको ऋण तिरिए पनि अहिले बैंकको साँवा र व्याज तिर्न सक्ने अवस्थामा व्यवसायी नभएको उनले बताए।

नेपाल राष्ट्र बैंकले पुनर्कर्जा, पुनर्तालिकीकरण र राहातका कार्यक्रम ल्याउनुपर्ने माग उनले गरे। व्यवसायी बचाउने कार्यक्रम ल्याए मात्र पर्यटन बाँच्ने धारणा उनले राखे। नीतिमार्फत राष्ट्र बैंकले पर्यटनमा बैंक तथा वित्तीय संस्थाले १० देखि १५ प्रतिशत लगानी गर्नैपर्ने बाध्यकारी नीति ल्याउनु पर्ने सुझाव उनले दिए।

अर्कोतर्फ अहिलेको पर्यटकीय सिजनको ८० देखि ९० प्रतिशत वरपर अकुपेन्सी हुनुपर्ने त्यस्तो अकुपेन्सी २० देखि २५ प्रतिशत मात्र भएको सुवेदीले बताए। होटल टिक्न पनि ५० प्रतिशत अकुपेन्सी चाहिने उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =