काठमाडौँ- उपनिर्वाचनका लागि चितवनमा २४ जनाले उम्मेदवारी दर्ता गरेका छन्। वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन-२ का लागि १२ जना स्वतन्त्रसहित २४ जनाले उम्मेदवारी दर्ता गरेका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म २४ जनाले उम्मेदवारी दिएका छन्।
निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरूको अन्तिम नामावली केहीबेरमा प्रकाशित गर्ने जनाएको छ।
आज उम्मेदवारी दिएकाहरूमाथि मंगलबार दिउँसो ३ बजेसम्म दाबी विरोध गर्न सकिनेछ। उम्मेदवारविरुद्ध उजुरी परे त्यसमा चैत २२ गते छानबिन हुनेछ र २३ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।
यहाँ रास्वपाका रवि लामिछाने, कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने, राप्रपाका जीवलाल पुरीलगायतको उम्मेदवारी दर्ता भएको छ।