कांग्रेसमा जोशी र कोइरालामाथिको कारबाही फुकुवा

हिमाल प्रेस १९ चैत २०७९ १३:१०
36
SHARES
कांग्रेसमा जोशी र कोइरालामाथिको कारबाही फुकुवा गोविन्दराज जोशी र विकास कोइराला

काठमाडौँ- नेपाली कांग्रेसले पूर्वमन्त्री एवम् पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र चितवनका पूर्वसभापति विकास कोइरालामाथिको कारबाही फुकुवा गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो। कांग्रेसले उपचुनावमा आफ्नो पक्षमा नतिजा ल्याउन ती दुई नेतामाथिको कारबाही फिर्ता लिएको हो। चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ १ मा आगामी वैशाख १० मा उपनिर्वाचन हुँदैछ। जोशीले २०४८ सालपछिका संसदीय निर्वाचनमा तनहुँबाट चुनाव जित्दै आएका थिए।

बैठकपछि पार्टीको निर्णय सुनाउँदै पार्टीका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले भने, ‘पार्टीको अनुशासनको कारबाहीमा परेका, २०७९ को निर्वाचनभन्दा पहिला स्वतन्त्र उम्मेदवार भएका, पार्टीको अनुशासन उल्लंघन गरेका नेताहरुको हकमा बारा, तनहुँ र चितवन ३ जिल्लाको हकमा अहिलेलाई पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुनेगरी कारबाही फुकुवा गर्ने निर्णय भएको छ।’

पूर्वमन्त्री जोशी गत निर्वाचनमा रामचन्द्र पौडेलविरुद्व बागी उम्मेदवारी दिएपछि कारबाहीमा परेका थिए। यस्तै उनी मंसिर ४ गतेको निर्वाचनमा तनहुँ-१ मा स्वतन्त्र उम्मेदवार बनेका थिए।
चितवनका कोइराला पार्टीका तत्कालीन केन्द्रीय सभापति सुशील कोइरालाविरुद्ध तत्कालीन चितवन–४ बाट स्वतन्त्र उम्मेदवार उठेपछि विकास कोइराला कारबाहीमा परेका थिए।

यसैगरी कांग्रेसले बारा निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवारको रुपमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ।

बारा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवारका रुपमा जसपा अध्यक्ष यादवलाई समर्थन गर्ने निर्णय गरेको पाण्डेले बताए।

कांग्रेसले तनहुँको १ नम्बर निर्वाचन क्षेत्रबाट गोविन्द भट्टराई र चितवन २ मा पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरेको छ। पाण्डेले भने, ‘बारामा भने साझा उम्मेदवार प्रस्तुत गर्नेगरी उपेन्द्र यादवलाई हाम्रो पार्टीबाट साझा उम्मेदवारको रुपमा स्वीकार्ने निर्णय गरेका छौँ।’ यादव २०७९ को निर्वाचनमा सप्तरीबाट पराजित भएका थिए।

प्रकाशित: १९ चैत २०७९ १३:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast