बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, मन्त्रीहरूले बुझाए राजीनामा

हिमाल प्रेस १० चैत २०७९ १५:२० | Friday, March 24, 2023
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, मन्त्रीहरूले बुझाए राजीनामा

काठमाडौँ- बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिएको छ। आज शुक्रबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै एमालेका संसदीय दलका नेता तथा अर्थमन्त्री जगन्ननाथ थपलियाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन्।

त्यस्तै उनले सदनबाटै एमालेको तर्फबाट सरकारमा रहेका मन्त्रीको राजीनामा पनि मुख्यमन्त्री शालिकराम जमकट्टेललाई बुझाए। यसअघि राप्रपाबाट मन्त्री बनेका तीन जनाले भने फागुन १३ गते नै राजीनामा बुझाएका थिए। बागमतीमा नेकपा माओवादी केन्द्र, एमाले र राप्रपा मिलेर पुस २६ गते सरकार गठन भएको थियो।
एमालेबाट थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री थिए।

आज शुक्रबार मुख्यमन्त्रीले प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन्। राप्रपा र एमालेले समर्थन फिर्तालिएपछि उनले कांग्रेसको समर्थन लिएर विश्वासको मत लिन लागेका हुन्। कांग्रेसले विश्वासको मत दिने निर्णय गरिसकेको छ।

 

प्रकाशित: १० चैत २०७९ १५:२० | Friday, March 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast