 
                             
                                            कोलोराडो (अमेरिका)– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) च्याप्टर तथा महिला सम्मेलनमा हालै अमेरिकाको बोस्टनस्थित पशुपति बुद्ध मन्दिरमा सम्पन्न भएको छ। तीन दिनसम्म चलेको सम्मेलनमा अनेसासका संसारभर फैलिएका ८० च्याप्टरमध्ये अधिकांशको प्रतिनिधित्व थियो।
पहिलो दिन अनेसासका केन्द्रीय पदाधिकारीबाट आगन्तुकहरूको स्वागत एवम् परिचयात्मक कार्यक्रम गरिएको थियो। दोस्रो दिन सम्मेलनको औपचारिक उद्घाटन गरिएको थियो। समारोहमा मनु ब्राजाकीको ‘श्यामकहानी’ लोकार्पण गरिएको थियो।
पुस्तकका संयोजक एवम् समीक्षक विमल अधिकारीले पुस्तक प्रकाशनका लागि केही आर्थिक समस्या परे पनि कोलोराडो च्याप्टरले सहयोग उपलब्ध गराएको भन्दै आभार व्यक्त गरेका थिए।
पुस्तकमा मनु ब्राजाकीका १५ वटा संस्मरण, पारिवारिक संस्मरण, साथीभाइका संस्मरण, चिनामा चेतमान, व्यक्तिवृत्तसहितको उनको जीवनका महत्त्वपूर्ण तस्बिरहरू समावेश छन्।
अधिकारीले भने, ‘व्राजाकीको जीवनवृत्त बुझ्नका लागि यो पुस्तक निकै उपयोगी हुनेछ।’ यस्तै नेपाली संस्मरण विधाको इतिहासमा उक्त ग्रन्थ कोसेढुंगा साबित हुने भनाइ अधिकारीको छ।

सोही साँझ आयोजित सांस्कृतिक कार्यक्रममा गीता खत्री, तारा अधिकारी, हरिकला अधिकारीले गीत र नृत्य प्रस्तुत गरेका थिए। यस्तै बालबालिकाहरूले नेपाली र अमेरिकी गीतमा नृत्य गरेका थिए।
तेस्रो दिन आयोजित महिला सम्मेलनमा सहभागी वक्ताहरूले सशक्तीकरणका लागि जोड दिएका थिए। लालगोपाल सुवेदीको संयोजकत्वमा आयोजित काव्य गोष्ठी सत्रमा विभिन्न कविकवयित्रीले रचना वाचन गरेका थिए। कवितामा नारी आवाज, डायस्पोराका पीडा व्यक्त भएको थियो।
समापान समारोहमा अनेसासका केन्द्रीय अध्यक्ष गोवर्धन पूजा, बोर्ड अफ ट्रस्टीका अध्यक्ष पदम विश्वकर्मा, साहित्यकार धरावासीलगायतले सम्बोधन गरेका थिए। धरावासीले अनेसासको प्रतिवेदन फितलो रहेको भन्दै असन्तुष्टि जनाएका थिए। यस्तै विदेशी भूमिमा बसेर नेपाल र नेपालीको आलोचना नगर्न पनि उनले स्रष्टाहरूलाई आग्रह गरेका थिए।
कार्यसम्पादनका आधारमा कोलोराडो च्याप्टर सर्वोत्कृष्ट भएको थियो। उक्त च्याप्टरका अध्यक्ष राजु सिटौलालाई ५०१ डलर पुरस्कारबापत हस्तान्तरण गरिएको थियो। आगामी सम्मेलन डीसीमा हुने घोषणा गर्दै कार्यक्रम समापन गरिएको थियो।
सम्मेलनमा बोस्टन च्याप्टरका अध्यक्ष एवम् सम्मेलन संयोजक महेश्वर पन्त, केन्द्रीय अध्यक्ष गोवर्धन पूजा, महासचिव विमला निरौला, डेलिकेट्स मेरिल्यान्ड ह्यारी भण्डारी, एमाले पूर्वसांसद शान्ता चौधरी, साहित्यकार नारायण श्रेष्ठ, सन्ध्या पहाडीलगायत सहभागी थिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             


 
  
  
  
  
  
  
  
  
  
 