नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी तीव्र

हिमाल प्रेस १३ वैशाख २०८३ १४:११ | Sunday, April 26, 2026
12
SHARES
नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी तीव्र

कोलोराडो- जेठ दोस्रो साता अमेरिकाको कोलोराडोमा आयोजना हुन लागेको नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी तीव्र रूपमा भइरहेको छ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले हरेक दुई वर्षमा आयोजना गर्दै आएको सम्मेलनको नवौँ शृंखला यसपटक कोलोराडो राज्यमा हुँदै छ। सम्मेलनमा विश्वभरबाट दुई सयभन्दा बढी नेपाली साहित्यकार सहभागी हुने अनुमान छ।

अनेसासका अध्यक्ष सर्वज्ञ वाग्लेले विश्वभर छरिएर रहेका ख्यातिप्राप्त नेपाली साहित्यकारलाई सहभागिताका लागि पत्राचार गरिएको र थुप्रै स्रष्टाले सहभागी हुने प्रतिबद्धता जनाइसकेको बताए।

अनेसास बोर्ड अफ ट्रस्टी (बीओटी) का सभापति पदम विश्वकर्माका अनुसार सम्मेलनका लागि कोलोराडोको वेस्टमिन्स्टरस्थित होटल ड्रुरी इन प्लाजा चार दिनका लागि बुक गरिएको छ। सम्मेलन आयोजनामा करिब ५० हजार अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ।

सम्मेलनमा नेपाली र अंग्रेजी भाषासँगै नेवारी, डोटेलीलगायतका भाषामा विभिन्न सत्र सञ्चालन गरिनेछन्। नेपालका सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मका साहित्यकारको सहभागितासँगै भारतको असम, सिक्किम, दार्जिलिङ, भुटान, म्यानमार तथा विश्वका विभिन्न मुलुकमा रहेका नेपाली साहित्यकारको उल्लेख्य उपस्थिति रहने अपेक्षा छ।

सम्मेलनमा ख्यातिप्राप्त अंग्रेजी लेखिका ज्याकलिन केरबेक, मदन पुरस्कार विजेता नवराज लम्साल, रामलाल जोशी, नीलम कार्की निहारिका, छुदेन काविमो, देउडा गायक नन्दकृष्ण जोशी, भूपाल राई लगायतका स्रष्टाले सहभागिता जनाउने प्रतिबद्धता जनाएका छन्।

अनेसासका महासचिव राजु सिटौलाले विश्वका झण्डै ४० मुलुकबाट दुई सयभन्दा बढी साहित्यकार सहभागी हुने अनुमान रहेको जानकारी दिए। उनका अनुसार सम्मेलनमा नेपाली साहित्यका साथै विश्व साहित्यका समसामयिक विषयमा पनि छलफल गरिनेछ, जसले नयाँ पुस्तालाई सिर्जनात्मक लेखनतर्फ प्रेरित गर्ने विश्वास गरिएको छ।

अनेसासकी कोषाध्यक्ष तारा अधिकारीले सम्मेलनलाई ‘साहित्यको महाकुम्भ’ का रूपमा वर्णन गर्दै साहित्यप्रेमीलाई सहभागिताका लागि आग्रह गरिन्।

अनेसास केन्द्रीय समितिको आयोजनामा हुने सम्मेलनको संयोजन अनेसास कोलोराडो च्याप्टरले गरिरहेको छ। च्याप्टर अध्यक्ष किरण अधिकारीका अनुसार सम्मेलनका लागि मूल समितिसँगै नौवटा उपसमिति गठन गरिएको छ र तयारी तीव्र रूपमा अघि बढिरहेको छ। सम्मेलनमा साहित्यिक बहस, छलफल र प्रस्तुति गरिनेछ भने अन्तिम दिन सहभागीहरूलाई कोलोराडोका ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको भ्रमण गराइने कार्यक्रम छ।

प्रकाशित: १३ वैशाख २०८३ १४:११ | Sunday, April 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast